व्यवसायिक बेसार खेतीतर्फ किसानहरु आर्कषित
नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का कृषक राम्रो आमदानी हुने भएपछि व्यवसायिक बेसार खेतीतर्फ आर्कषित भएका छन् ।
जिल्लामा व्यक्तिगत तथा सहकारी मार्फत बेसार खेती शुरु गरिएको छ । शुद्ध बेसारको माग बढ्दै गएकाले सहकारी मार्फत आफूहरुले व्यावसायिक रुपमा बेसार खेती शुरु गरेको सुनवल लघु उद्यमी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नरबहादुर खड्काले बताउनुभयो ।
हाल बजारमा प्रशोधित बेसार कृषकसँग प्रतिकेजी २०० मा किनेर बजारमा ४०० रपैयासम्ममा बिक्री हुने गरेको संस्थाका अध्यक्ष खड्काले बताउनुभयो ।
अन्नबालीभन्दा राम्रो आम्दानी र खेती गर्न सजिलो भएकाले बेसार खेतीमा कृषकको आकर्षण बढेको हो ।
उखुको विकल्पमा पश्चिम नवलपरासीका प्रतापपुर, सुस्ता लगायत गण्डक क्षेत्रका अधिकांश कृषकले पनि लामो समयदेखि बेसार खेती गरिरहेका छन् ।
कृषि ज्ञान केन्द्र परासीका प्रमुख देवेशकुमार मिश्रा जिल्लामा बेसार खेती राम्रो हुने गरेको बताउनुहुन्छ । जिल्लामा करीब २० हेक्टर क्षेत्रफलमा बेसार खेती हुने गरेको ज्ञान केन्द्रले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्