तपाईँ सुन्दै हुनुहुन्छः

वीरगंजमा दुई महिनादेखिको निषेधाज्ञा हट्यो

वीरगंज । कोरोना नियन्त्रण तथा रोकथामका लागि वीरगंजमा साउन १० गते देखि घोषणा गरिएको निषेधाज्ञा आजबाट हटेको छ ।

झण्डै दुई महिना भन्दा बढी समय देखि जारी निषेधाज्ञा हटेसँगै आजबाट वीरगंज बजार साँझ ६ बजे सम्म खुल्न पाउने भएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको सम्पन्न वैठकले नेपाल सरकार मन्त्रिपरिषदको गत भदौ २९ को निर्णय बमोजिम निषेध गरेका सेवा बाहेक संक्रमण ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम भिडभाड व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले महानगरपालिका भित्र रहेका पसलहरु स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरी साँझ ६ बजे सम्म संचालन गर्ने, तोकिएको समय र स्थान बाहेक अन्य समय र स्थानमा कुनै पनि प्रकारले पसल खोलेको, सामान बेचेको वा भिडभाड गरेको पाईएमा कानुन बमोजिम कारवाही गर्ने निर्णय गरेको छ ।

त्यसैगरी वैठकले पसलमा आउने ग्राहकलाई सामाजिक दुरी कायम गर्ने, भिडभाड नियन्त्रण गर्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यवसायीको हुने, स्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लंघन भएको पाईएमा सम्बन्धित व्यवसायीलाई कारवाही गर्ने निर्णय गरेको छ ।
बैठकले तरकारी र फलफुल पसल विहान ५ बजे देखि ८ बजे सम्म मात्र संचालन गर्ने, सडक पेटी र फुटपाथमा पसल संचालन गर्न नपाईने, निर्णय गरेको छ ।

वैठकले संक्रमण ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम भिडभाड व्यवस्थापन गर्दै सार्वजनिक सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन वीरगंज महानगरपालिकाको कार्यालय आईतबार र सोमबार संचालनमा आउने, पोखरीया नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिका मंगलबार र बुधवार संचालन हुने तथा जिल्लाका अन्य १० स्थानिय तह बिहीबार र शुक्रवार सेवा प्रवाह गर्ने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनुभयो ।

त्यसैगरी जिल्लामा यातायात व्यवस्था कार्यालय सवारीबाट प्रदान गरिने सेवाको सन्दर्भमा जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधनहरुसँग सम्बन्धित सेवा प्रवाह गर्ने निर्णय गरेको छ ।

बैठकले नेपालीहरुको प्रमुख चाड दशैं तिहार, तथा छठ आई रहेको हुँदा कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेको अवस्थामा जिल्लावासीलाई आ–आफ्नै घर पुजा आराधना गरी चाडपर्व मनाउन र सार्वजनिक स्थल तथा बजारमा अनावश्यक भिडभाड नगर्न तथा त्यस्ता स्थानमा आवत जावत नगर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button