तपाईँ सुन्दै हुनुहुन्छः

बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु, २ घाइते

वीरगञ्ज । बाघको आक्रमणबाट रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर–६ निवासी २७ वर्षीय संगम भण्डारीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भण्डारी हिजो साँझ घाँस लिन साथीहरुसँग जंगल गएको र राती अबेर सम्म घर नफर्किएपछि उनको खोजी गरिएको थियो । बेपत्ता भण्डारीको खोजी गर्ने क्रममा आज बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको थियो ।

घास लिन गएका भण्डारीको खोजीका लागि आज बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरीएको र मृतकको शव बाघले लिएर गइरहेको अवस्थामा घटनास्थलबाट झण्डै एक किलोमिटर उत्तर लमाह खोला नजिकै फेला परेको थियो ।

सुरक्षाकर्मी र गाउँलेको टोली होहल्ला गर्दै हिडेपछि बाघले भण्डारीको शव छाडेर भागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक हेम बहादुर शाहीले बताउनुभयो ।

यस अघि गएराति भण्डारीलाई खोजी गर्न गएको स्थानियको टोली माथि समेत बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्द्रपुर ६ का ३० बर्षका अशोक थापा र ३४ बर्षका प्रबिण श्रेष्ठ घाईते भएका छन ।

घाइतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button