‘बलात्कारको घटनामा संलग्नलाई मृत्युदण्डको सजाय हुने गरी कानुन बनाउनुपर्नेमा जोड’

काठमाडौँ । प्रतिनिधि सभाका सांसदहरुले बालिका बलात्कारजस्तो जघन्य अपराधमा संलग्न अपराधीलाई मृत्यु दण्डको सजाय माग गरेका छन् ।
संसदको महिला तथा सामाजिक समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बझाङको मास्टा गाउँपालिकाकी १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि हुँदा पनि दोषीलाई कारवाही हुन नसकेको भन्दै बलात्कारको घटनामा संलग्नलाई मृत्युदण्डको सजाय हुने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका हुन् ।
समितिको बैठकमा पूर्व मन्त्री एवं प्रतिनिधि सभाका सांसद राधा ज्ञवालीले बलात्कारको घटना बढ्दै गएकाले अपराधिक मानसिकता बोकेका ब्यक्तिहरुको मनोबल बढ्न थालेकाले सरकारले कानुनी रुपमै बलात्कारका घटनाका दोषीलाई मृत्युदण्डको सजाय व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा सांसद शान्ता चौधरीले प्रत्येक बालबालिकालाई कुनै पनि महिलामाथि हिंसा गर्न हुँदैन भनेर पाठ्यक्रममै पढाइनुुपर्ने बताउनुभयो ।
सांसद पुष्पा भुषालले अन्तराष्ट्रिय प्रतिवद्धताका कारण नेपालमा मृत्युदण्डको सजायको व्यवस्था गर्न कठिन परेको भन्दै महिलामाथि हुने हिंसाका घटनाका सन्दर्भमा अब नयाँ ढंगले सोच्नुपर्ने बताउनुभयो ।
त्यस्तै सांसद डा.विन्दा पाण्डेले महिलाहरु कतै पनि सुरक्षित नभएको भन्दै बनेको कानुन पनि कार्यान्वयन नहुँदा बलात्कारजस्तो घटना बढ्ने गरेको बताउनुभयो ।
बैठकमा गृहसचिव महेश्वर न्यौपानेले साउन र भदौमा मात्रै ४६ वटा बलात्कारका घटना घटेको जानकारी गराउँँदै अहिले दैनिक आठ वटासम्म बलात्कारका घटना हुने गरेको बताउनुभयो ।
बलात्कारमा संलग्न ८० प्रतिशत दोषी पक्राउ पर्ने गरेको जानकारी दिँदै गृह सचिव न्यौपानेने ८२ प्रतिशत बालिका तथा महिला नजिकका आफन्तबाटै बलात्कृत हुने गरेको जानकारी गराउनुभयो ।
कानुन आयोगका अध्यक्ष माघव पौडेलले बलात्कारका घटनाका दोषीलाई मृत्युदण्डको सजाय हुनुपर्ने विषयमा विगत लामो समयदेखि बहस भइरहेको र नेपालले अन्तराष्टिय र प्रतिवद्धता जनाएका कारण मृत्युदण्डको सजाय हुने गरी कानुन बनाउन नसकिने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्