बलात्कारको घटना न्युनिकरण गर्न अधिकतम प्रयत्न गरिरहेका छौ : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटना न्युनिकरणका लागि सरकारले अधिकतम प्रयत्न गरिरहेको बताउनुभएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले बलात्कारका घटनालाई न्युनिरकण गर्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेको बताउनुभयो ।
उहाँले बझाङकी सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन सरकारले कडा कदम चालेको बताउनुभयो ।
गृहमन्त्री थापाले समाजिक मनोवृत्ति, राजनीतिक अवस्था, नेतृत्वको कमजोरी, सामाजिक तथा सांस्कृतिक चेतनाको कमी र कानुनको पालना नहुँदा बलात्कारको घटना बढिरहेको भन्दै यस्ता घटनाको न्युनिरकणमा सबैको सार्थक पहल हुनु पर्नेमा जोड समेत दिनुभयो ।
गृहमन्त्री थापाले निर्मला पन्त घटनामा अपराधीलाई कानुनी कठघरामा ल्याउन ढिलाई भएको स्विकार गर्दै घटनाको दोषीलाई सरकारले कारवाहीको दायरामा ल्याइछाड्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको र सकेसम्म छिटो निष्कर्षमा पुग्ने गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

महानिरीक्षक थापाले हाल प्रतिदिन सात जनाका दरले महिला र बालिका बलात्कृत हुने गरेको तथ्याङ्कले देखाएको बताउँदै यस आर्थिक वर्षको साउन र भदौमा चार सय ९६ वटा बलात्कारको घटना भएको जानकारी गराउनुभयो ।
उहाँले, तथ्याङक अनसार अघिल्लो बर्षको तुलनामा घटना बढेको स्पष्ट पार्दै ८० प्रतिशत अपराधीलाई पक्रन प्रहरी सफल भएको बताउनुभयो ।
बैठकमा सांसदहरुले घटनाको न्युनिकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, संविधान संशोधन गरेर भएपनि कडाभन्दा कडा सजाएको व्यवस्था गर्नु पर्ने, मुद्दामा मेलमिलाप गराउनेलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने र प्रहरीले स्वतन्त्र रुपमा मुद्दा दर्ता गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्