बेपत्ता ४ बालबालिका बाबु खोज्दै जुम्लामा
जुम्ला । आफ्नो बुबा खोज्दै बेपत्ता ४ बालबालिका जुम्ला पुगेका छन् । कैलाली स्थायी ठेगाना बताउने ४ बालबालिका बाबु खोज्दै जुम्ला पुगेका हुन् ।
पञ्जाबमा नोकरी गर्दै आएका बाबु सन्तोष विक ३ वर्षसम्म बेपत्ता भएपछि उनका ४ छोराछोरी अलपत्र छन् ।
१७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, ९ वर्षीय नवीन विक र ३ वर्षीय आशीष विक बुबालाई खोज्दै जुम्ला सदरमुकाम खलंगा पुगेका हुन । १७ वर्षिय मधु विक भन्छिन,“हामी सबै भारतको पञ्जाबमा जन्मिएका हौं । नेपालमा घर कैलाली जिल्लामा छ भन्ने सुनेका थियौं । तर, कुन ठाउँ, कुन टोल हो, केही थाहा छैन ।”
सानो भाइ १ महिने हुँदै आमा सपना विकको उपचारका क्रममा अस्पतालमै निधन भएको थियो । आमाको निधनपछि बुबाले कान्छी आमा लिएर बेपत्ता भएकाले बिचल्लीमा परेको मधुको भनाई छ ।
बालबालिकालाई सेभ हाउसमा राखियो
चन्दननाथ नगरपालिका ६ विजयनगरस्थित बालबालिका बिचल्लीमा परेको थाहा पाएपछि समाजसेवी छिरिङ ल्यामु तामाङले जिल्ला प्रशासन कार्यालय जुम्लामा खबर गर्नुभयो । जिल्ला प्रशासनले जिल्ला प्रहरीमा जानकारी गराएपछि बालबालिकाको उद्धार भएको हो ।
प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार बालबालिका अलपत्र परेको जानकारी प्राप्त भएपछि शनिबार नै उद्धार गरिएको छ । बेपत्ता बाबु खोज्दै जुम्ला आइपुगेका बालबालिकाबारे विस्तृत अध्ययन भइरहेको उहाँले जानकारी दिनुभयो । उनीहरुलाई प्रहरीको उद्धारपछि अल्पकालीन महिला तथा बालबालिका सेवा केन्द्रमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्