‘प्राणघातक रोग ‘रेविज’बाट जोगिनु नै उत्तम उपाए’

जनकपुरधाम । धनुषामा विभिन्न कार्यक्रमको आयोजना गरी आज १४औं विश्व रेविज दिवस मनाइएको छ ।
रेविजको अन्त्य, सहकार्य गराँै, खोप लगाऔं भन्ने मूल नाराका साथ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाले आयोजना गरेको कार्यक्रममा रेविज प्राणघातक रोग भएको बताउँदै रेविज लाग्न नदिनका लागि व्यक्तिगतदेखि छाडा एवं भूस्याहा कुकुरलाई रेविज विरुद्धको खोप लगाउन जरुरी रहेको विज्ञहरुले बताउनुभएको छ ।

उहाँहरुले कुकुर तथा स्यालको टोकाइबाट रेविज सर्ने भएकाले यी जनावरको टोकाइबाट जोगिनका लागि सतर्क रहन जरुरी रहेको बताउँदै घर पालुवा कुकुरलाई अनिवार्य रुपमा खोप लगाउनका लागि सुझाव दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रदेश नंं २ को पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. जागेश्वर यादवले शहरी क्षेत्रमा भएका छाडा कुकुर रेविजको प्रमुख श्रोत भएको बताउनुहुँदै कहिलेकाही गाउँमा स्यालको टोकाइबाट पनि मान्छे पिडित हुनु परेको बताउनुभयो ।
उहाँले नेपाल सरकारले अगामी दश वर्षमा मुलुकबाट रेविज उन्मूलन गर्ने उद्देश्य लिएकाले सो उद्देश्यको परिपूर्ति गर्नका लागि प्रदेश सरकारले काँधमा काँध मिलाएर काम गर्नका लागि तत्पर रहेको बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनुषाका प्रमुख बरिष्ठ पशु विकास अधिकृत इन्द्रदेव साहले जिल्ला भरिमा रेविजको खोप निःशुल्क उपलब्ध गराउने गरी कार्यालयले गृहकार्य गरेको बताउनुहुँदै नेपालमा नै रेविज विरुद्धको खोप तयार भइरहेका र नेपाली खोप प्रभावकारी रहेको बताउनुभयो । अहिले भारतीय रेविज खोपप्रति बढी निर्भरता हुनु ठीक नभएको पनि उहाँले बताउनुभयो ।
सो कार्यक्रममा क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशाला जनकपुरधामका प्रमुख डा. राकेश मोहन सिंह, प्रदेश नंं २ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिव विजय कुमार महतोले रेविज विरुद्धको खोपको सहज आपूर्ति हुनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।

यस अघि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट कोरोनालाई ध्यानमा राखेर निश्चित दूरी कायम गर्दै प्लेकार्ड व्यानरसहित निस्केको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गरेको पशु विकास अधिकृत डा. विजेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
कार्यक्रममा धनुषाका विभिन्न पालिकाहरुमा रहेको पशु सेवा शाखालाई विज्ञ केन्द्रले निःशुल्क रुपमा रेविज विरुद्धको खोप प्रदान गरेको छ ।









प्रतिक्रिया राख्नुहोस्