तपाईँ सुन्दै हुनुहुन्छः

बाढीले झापामा नौ घर बगायोे, ४५ परिवार विस्थापित

भद्रपुर, झापा । केही दिनदेखि भएको अविरल वर्षका कारण खोलाहरुमा आएको बाढीले झापामा नौ घर बगाएको छ भने ४५ घरपरिवार विस्थापित बनेका छन् ।

झापाको विभिन्न खोला तथा नदीमा आएको बाढीले अझै केही स्थानमा कटान जारी रहेकाले क्षति बढ्ने संभावना रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ ।

यस पटक विरिङ खोलाले बाह्रदशी वडा नं ६ र ७ मा धेरै क्षति पुर्याएको छ । त्यहाँका सात घर बाढीले बगाएपछि ती परिवारको बिचल्ली भएको छ । बाढीले घरबार विहीन बनेका नागरिकलाई उचित व्यवस्थापनको तयारी थालिएको सो वडा नं ७ का अध्यक्ष मित्रराज भट्टराईले बताउनुभयो ।

झापाको बाह्रदशी, भद्रपुर, झापा, हदिबारी क्षेत्रमा ४५ घरपरिवार विस्थापित भइसकेका छन् भने दक्षिणी क्षेत्रमा सयौँ बिगाहाको धानबाली बगाएको बताइएको छ ।

यस वर्षको मनुसनी वर्षापछि नदीहरुमा आएको बाढीका कारण झापामा २० जनाको मृत्यु भइसकेको छ भने झण्डै तीन सय ५० घरपरिवार विस्थापित बनेको जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button