विस्तार गरिँदै जुम्ला विमानस्थल, एक करोड बजेट विनियोजन

जुम्ला । कर्णाली प्रदेशको सुर्खेतपछि दोस्रो ठुलो सहर जुम्लाको विमान स्थल विस्तार गरिने भएको छ । चालु आर्थिक वर्ष ०७७/०७८ देखि बहु वर्षीय आयोजनाको रूपमा विमान स्थल विस्तार गरिन लागिएको हो ।
माथिल्लो कर्णालीको सबैभन्दा सहज तथा चाप हुने जुम्ला विमानस्थललाई चालु आर्थिक बर्षमा विस्तार गर्नका लागि सङ्घीय सरकारले एक करोड बजेट विनियोजन गरेको छ ।
धावन मार्ग विस्तारका लागि अध्ययन भइरहेको नागरिक उड्डयन प्राधिकरण कार्यालय जुम्लाका प्रमुख महेन्द्रबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “विस्तृत अध्ययनका लागि १७ लाख ६९ हजार रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन भएको छ । उड्डयन प्राधिकरणको आफ्नै स्रोतबाट विमान स्थलमा फायर सेड निर्माण कार्य गतबर्षदेखि निरन्तरता दिइरहेको छ ।”
विमान स्थल विस्तार गर्नका लागि प्रदेशबाट एक करोड बजेटसमेत विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकारको शेयर लगानीमा विमान स्थल विस्तारका लागि जग्गा अधिकरण कार्यका लागि बजेट विनियोजन भएको नागरिक उड्डयन प्राधिकरण जुम्लाले जनाएको छ ।
चालु आर्थिक वर्षमा चालु खर्चतर्फ कार्यालय सञ्चालनका लागि रु २९ लाख ६० हजार बजेट विनियोजन भएको पनि प्राधिकरणले जनाएको छ । स्टिल फर्निचर खरिदका लागि रु २५ हजार, भत्ता रु ५० हजार, अतिरिक्त पारिश्रमिक खर्च रु एक लाख ८० हजार, टेलिफोन, टेलेक्स, फ्याक्स, हुलाक तथा इन्टरनेट खर्च रु ५० हजार रकम विनियोजन भएको हो । त्यसैगरी सरसफाइ सामान खरिदका लागि रु एक लाख ३० हजार र सरसफाइ ज्यालाका लागि रु एक लाख ५० हजार रकम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्