कोरोना प्रभावको अध्ययन थाल्न संसदीय समितिको निर्देशन
काठमाडौं । संघीय संसदको महिला तथा सामाजिक समितिले कोरोना भाइरसको प्रभावका कारण समाजमा परेको असरको यथाशीघ्र अध्ययन, अनुसन्धान थाल्न सरकारलाई निर्देशन दिएको छ ।
महामारी र सामाजिक प्रभाव सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले कोरोनाका कारण गरिबी र बेरोजगारी बढ्नुका साथै समाजमा गलत क्रियाकलाप विकसित हुनसक्ने भएकाले समाधानका लागि अध्ययन अनुशन्धान थाल्न सरकारलाई निर्देशन दिएको हो ।
बैठकले कोरोनाका कारण दैनिक ज्यालादारीमा काम गर्ने वर्ग बढी प्रभावित भएकोले उनीहरुको तथ्याङ्क एकिन गरी रोजगारीमा प्रदान गर्ने वातावरण बनाउन स्थानीय तहसँग समन्वय गर्न समेत सरकारलाई निर्देशन दिएको छ ।
समितिको बैठकले कोरोना भाइरसको महामारीबाट सिर्जित समस्या सम्बोधन गर्न पर्याप्त कानुनी, नीतिगत र रणनीतिगत व्यवस्था गर्न तथा त्यसमा लैङ्गिक पक्षलाई समेत ध्यान दिन सरकारलाई निर्देशन दिएको छ ।
बैठकले सत्यतथ्य समाचार सम्प्रेषण गरी कोरोना महामारी लगायत अन्य समस्याको समाधानमा सकारात्मक भूमिका निभाउन सञ्चारमाध्यामलाई आग्रह समेत गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्