नागरिक लगानी कोषको लगानी दायरा विस्तार र संस्थागत क्षमता अभिवृद्धिमा जोड
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई समयानुकूल बनाउन संस्थागत क्षमता अभिवृद्धि र लगानीका क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभाको अर्थ समितिको आज बसेको बैठकमा अर्थमन्त्री डा. वाग्लेले कोषको संस्थागत संरचनामा सुधार, लेखा प्रणालीको आधुनिकीकरण तथा वित्तीय पहुँच विस्तार गर्न विधेयकले सहयोग पुर्याउने बताउनुभयो ।
नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक २०८३ माथिको सैद्धान्तिक छलफलमा अर्थमन्त्री डा. वाग्लेले मध्यम वर्गको आर्थिक पहुँच, शिक्षा र आवास सुविधाको विकासमा कोषको भूमिका विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
विधेयकले पूर्वाधार विकास, उत्पादनमूलक उद्योग तथा राष्ट्रिय गौरवका आयोजनामा लगानीको दायरा विस्तार गर्नुका साथै जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्ने लक्ष्य राखेको अर्थमन्त्री डा. वाग्लेले जानकारी दिनुभयो ।
बैठकमा सांसदहरुले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई समेत कोषको लगानीको दायरामा समेट्नुपर्ने सुझाव दिनुभयो ।
सांसदहरुले शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा कोषको लगानीलाई केवल नाफा आर्जनको दृष्टिकोणबाट मात्र नहेरी सुविधामूलक बनाउनु आवश्यक रहेको औँल्याउनुभयो ।
कोषको लगानी सामाजिक सुरक्षा, रोजगारी सिर्जना तथा उत्पादनमूलक क्षेत्रको विकासमा केन्द्रित हुनुपर्ने बताउँदै लगानीकर्तालाई लगानी गर्न प्रोत्साहित गर्ने वातावरण बनाउनुपर्नेमा सांसदहरुले जोड दिनुभयो ।
बैठकमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको लगानी तुलनात्मक रूपमा सुरक्षित क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै लगानी विविधीकरण गर्नुपर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्