उद्योग समिति बैठक : बालश्रम शोषणमुक्त समाज निर्माणमा सांसदहरूको जोड
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरूले नेपाललाई बालश्रम शोषणमुक्त मुलुक बनाउनुपर्नेमा जोड दिनुभएको छ।
बालश्रम विधेयक २०८३ माथिको सैद्धान्तिक छलफलका लागि आज बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरु गङ्गादेवी श्रेष्ठ, रञ्जु दर्शना, कालीबहादुर सहकारी, प्रकाश पाठक लगायतले बालश्रमको मुख्य कारण गरिबी रहेकाले राज्यले अभिभावकलाई रोजगारी उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो ।

उहाँहरूले विद्यालय जाने बालबालिकालाई कक्षामा टिकाइरहने वातावरण बनाउने दायित्व राज्यको भएकाले त्यस्ता विद्यार्थीलाई विशेष राहतको व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
खुला सीमानाका कारण आप्रवासी बाल-श्रमिकहरूको समस्या बढ्दै गएकाले उनीहरूको व्यवस्थापन चुनौती बन्न सक्ने भन्दै सांसदहरुले नयाँ कानूनले श्रमबाट उद्धार गरेका बालबालिकाको उचित संरक्षण गर्ने गरी विधेयक अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले शोषणकारी श्रममा बालबालिकालाई लगाउन नमिल्ने भनेर थाहा पाउनेहरूले नै बढी शोषण गर्ने गरेको भन्दै नयाँ कानून बनेपछि कार्यान्वयन प्रक्रिया सहज हुनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री यादवले बालबालिकाले कुन तहको काम गर्न पाउने भन्ने व्यवस्था अब बन्ने कानूनले स्पष्ट पार्नुपर्ने बताउनुभयो ।
समितिका सभापति रहबर अन्सारीले रोजगारदातालाई बालश्रम महँगो पर्ने गरी कानून बनाइने र त्यसका लागि सबै पक्षसँग विस्तृत छलफल गरी विधेयक अघि बढाइने जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्