तपाईँ सुन्दै हुनुहुन्छः

दशौँ राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा आर्मी विजयी

कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला क्रिकेटको सुरुआती खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

सुर्खेतको वीरेन्द्रनगर रङ्गशालामा भएको उक्त  खेलमा आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको हो । टस हारेर ब्याटिङ गर्न पुगेको कोशी प्रदेशले सबै विकेट गुमाएर ६५ रन मात्र बनायो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन् ।

उनले ३६ बल खेल्ने क्रममा एक छक्का र पाँच चौका प्रहार गरिन् । 

बलिङतर्फ आर्मीकी यमुना थारुले सर्वाधिक चार विकेट लिइन् । उनले चार ओभर बलिङ गर्ने क्रममा दुई ओभर मेडन राख्दै छ रन मा खर्चिन । यसैगरी मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट लिइन् । 

आर्मीले ६६ रन १३ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा बनायो । आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१ रन बनाइन् । उनले २८ बलको सामना गर्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन् । 

बलिङतर्फ कोशीकी रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन् । प्रतियोगिताको प्लेयर अफ दी म्याच आर्मीकी यमुना थारु घोषित भइन् । प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस, सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेट खेल सञ्चालन भएका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button