तपाईँ सुन्दै हुनुहुन्छः

निजी क्षेत्रलाई लगानीको गियर बदल्न अर्थमन्त्री डा‍‍.वाग्लेको आग्रह

विराटनगर । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई परम्परागत कारोबारबाट आधुनिक उत्पादन र सीमित बजारबाट विश्व बजारतर्फ लगानीको गियर बदल्न आग्रह गर्नुभएको छ ।

विराटनगरमा आज आयोजित ‘उज्यालो पूर्व, सम्भावनाबाट समृद्धितर्फ’ विषयक उद्योगी व्यवसायीसँगको संवाद कार्यक्रममा उहाँले आर्थिक क्षेत्रको विकासका लागि वर्तमान सरकारले कार्यशैली परिवर्तन गरिसकेकाले निजी क्षेत्रले पनि नयाँ सोच र शैलीमा लगानी गर्नुपर्ने बताउनुभयो ।उहाँले अल्पकालीन अवसरभन्दा दीर्घकालीन सम्भावनालाई लक्षित गर्दै औद्योगिक सामर्थ्य निर्माण गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

राज्यको सुधार र निजी क्षेत्रको उद्यमशीलता एकसाथ अघि बढाउन सके मुलुकमा समृद्धि हासिल गर्न सकिने स्पष्ट पार्दै मन्त्री वाग्लेले आर्थिक शिथिलताले सिर्जना गरेको निजी क्षेत्रको निराशालाई सरकारले बुझेको बताउनुभयो । उहाँले निजी क्षेत्रका समस्या समाधान गर्न सरकारले आर्थिक सुधारलाई प्राथमिकता दिएको पनि उल्लेख गर्नुभयो ।

निजी क्षेत्र आयातमा मात्रै केन्द्रित नभई कुन वस्तु उत्पादन गर्ने, नेपाली बजारमा कुन वस्तुको माग बढी छ र उत्पादित वस्तु कसरी सहज रूपमा बजारसम्म पुर्‍याउन सकिन्छ भन्नेमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

लगानीको वातावरण सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताउँदै मन्त्री वाग्लेले नयाँ उद्योग स्थापना तथा विद्यमान उद्योग विस्तारमा आधुनिक प्रविधिको प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।

औद्योगिक विरासतका रूपमा रहेको विराटनगरको आफ्नै आर्थिक तथा राजनीतिक पहिचान रहेको उल्लेख गर्दै उहाँले उक्त विरासत जोगाउन उद्योगी व्यवसायीले लगानी बढाएर रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

कोशी प्रदेशमा जलविद्युत् र पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै उहाँले त्यसको उचित उपयोग गर्नुपर्ने बताउनुभयो । लगानीको वातावरण र लगानीको सुरक्षा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री वाग्लेले व्यवसाय सञ्चालन तथा लगानीका क्रममा प्रशासनिक झन्झट वा अन्य समस्या आए सरकारलाई जानकारी गराउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button