तपाईँ सुन्दै हुनुहुन्छः

मानव बेचबिखन नियन्त्रणसम्बन्धी कानुन प्रभावकारी बनाउन संसदीय समितिमा छलफल

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा सांसदहरूले वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन तथा शारीरिक शोषण रोक्न प्रभावकारी कानुनी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट हुने हिंसा र बेचबिखनमा परेका पीडितले न्याय पाउने प्रक्रिया सरल बनाउनुपर्ने बताउनुभयो ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन विधेयक २०८३ माथिको दफावार छलफलमा सांसदहरुले मानव बेचबिखनमा परेका पीडित बालबालिकाको शिक्षाका लागि आर्थिक सहयोग र पुनर्स्थापनाको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।  

बैठकमा विज्ञका रुपमा सहभागी माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले काठमाडौँ उपत्यकामा राति सञ्चालन हुने डान्सबारमा नाबालिक किशोरीहरूलाई सहमतिबिना ब्राउन सुगर जस्ता प्रतिबन्धित लागूपदार्थ सेवन गराइन यौन शोषण भइरहेको विषयमा ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा राष्ट्रिय महिला आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाले भिजिट भिसा तथा विवाहमार्फत विदेश पुगेर विदेशी नागरिकता लिएका नेपाली महिला समेत शारीरिक शोषण तथा मानव बेचबिखनमा पर्ने गरेको उल्लेख गर्दै ती महिलाहरूको उद्धारका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।

बैठकमा सरोकारवालाहरूले अवैध अङ्ग निष्कासन तथा मानव अङ्ग तस्करीका विषयलाई समेत विधेयकमा समेट्नुपर्ने सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button