तपाईँ सुन्दै हुनुहुन्छः

डोम समुदायको परम्परागत पेसामा अन्य समुदायको आकर्षण

धनुषा । तराई मधेसका गाउँबस्तीमा बाँसबाट बनेका ढक्की, डालो, नाङ्लो, सुप्पा र अन्य सामग्रीको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ । घरायसी कामकाजदेखि धार्मिक तथा सांस्कृतिक गतिविधिसम्म बाँसका सामग्रीको विशेष महत्व छ । विशेषगरी छठ, विवाह, व्रतबन्धलगायत पर्व तथा संस्कारमा बाँसबाट बनेका सामग्रीको प्रयोग अनिवार्यजस्तै मानिन्छ । यस्ता सामग्री बनाउने पेसा भने परम्परागत रूपमा डोम समुदायसँग जोडिँदै आएको छ ।

पुस्तौँदेखि बाँसको चोया निकालेर विभिन्न सामग्री बुन्ने काम गर्दै आएका डोम समुदायका लागि यो पेसा जीविकोपार्जनको प्रमुख आधार समेत हो । तर पछिल्लो समय यो पेसा कुनै एउटा जाति वा समुदायको पहिचानमा मात्र सीमित रहन छाडेको छ । सीप सिकेर घरमै बसेर आम्दानी गर्न सकिने भएपछि अन्य समुदायका मानिससमेत यस पेसातर्फ आकर्षित हुन थालेका छन् ।

धनुषाको धनौजी गाउँपालिका–३ स्थित कटैयागाउँ यसको उदाहरण बनेको छ । यहाँ परम्परागत रूपमा डोम समुदायसँग जोडिएको बाँसका सामग्री बनाउने पेसा अहिले विभिन्न जातजाति र समुदायका मानिसले अपनाएका छन् । मुखिया, मण्डल, यादव, चमार, मुस्लिम र साहलगायत समुदायका मानिस बाँसका सामग्री बनाउने काममा संलग्न छन् । उनीहरूका लागि यो पेसा केबल परम्परागत सीपको निरन्तरता मात्र नभई घरपरिवार चलाउने र आर्थिक उपार्जन गर्ने माध्यमसमेत बनेको छ ।

स्थानीय निर्धन मुखियाका अनुसार कटैयागाउँमा विभिन्न समुदायका करिब २०० जना बाँसका सामग्री बनाउने काममा संलग्न छन् । उहाँका अनुसार गाउँमा यो पेसा कुनै एक जाति वा समुदायको मात्र नभई सबैका लागि आम्दानीको अवसर बनेको छ । “डोम समुदायले मात्र बाँसका सामग्री बुन्छन् भन्ने सोच सही होइन । सीप हुनेले जुनसुकै समुदायका मानिसले पनि यो काम गरेर आम्दानी गर्न सक्छन्”, मुखियाले भन्नुभयो । परम्परागत रूपमा डोम समुदायसँग जोडिएको भए पनि बाँसका सामग्री बनाउने सीप कुनै एउटा समुदायको मात्रै नभएको उहाँको भनाइ छ ।

उहाँका अनुसार कटैयामा विभिन्न समुदायका मानिसले एक अर्काबाट सीप सिक्दै यो पेसा अपनाएका हुन् । सुरुमा केही परिवारले मात्र गर्दै आएको काम बिस्तारै अन्य परिवारमा पनि फैलिएको छ । बाँसका सामग्री बनाएर बिक्री गर्न सकिने र त्यसका लागि ठूलो लगानी आवश्यक नपर्ने भएकाले पनि स्थानीय बासिन्दा यसप्रति आकर्षित भएका हुन् । बाँसका सामग्री बनाउने काममा संलग्न स्थानीय अरबिन्दकुमार साह पनि यो पेसालाई जातीय पहिचानसँग जोडेर हेर्न नहुने बताउनुहुन्छ । उहाँ लामो समयदेखि बाँसको चोयाबाट ढक्कीलगायत सामग्री बनाउँदै आउनुभएको छ । उहाँका अनुसार कटैयामा डोम समुदायको तुलनामा अन्य समुदायका मानिससमेत उल्लेख्य सङ्ख्यामा यस पेसामा संलग्न छन् ।

साहका अनुसार कुनै पनि काम सानो वा ठूलो हुँदैन । “त्यसै बसिरहँदा कसैले दुई रुपियाँ दिँदैन । जुनसुकै काम भए पनि लाज मान्नु हुँदैन । काम गरेर खानुपर्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार बाँसका सामग्री बनाएर दैनिक करिब एक हजार रुपियाँसम्म आम्दानी हुने गरेको छ । कामको मात्रा, सामग्रीको प्रकार र बजारको मागअनुसार आम्दानीमा फरक पर्ने भए पनि यस पेसाबाट घरखर्च चलाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।

पर्वसँगै बढ्छ बजारको माग

कटैयागाउँमा बाँसका सामग्री बनाउनेहरूको व्यस्तता यतिबेला झनै बढेको छ । छठपर्वमा पूजाका लागि आवश्यक ढक्की, डालो, नाङ्लो, सुप्पालगायत सामग्रीको माग हुने हुँदा स्थानीयलाई सामग्री तयार पार्न भ्याइनभ्याइ भएको थियो । बाँसबाट बनेका सामग्रीलाई पवित्र र परम्परागत मानिने भएकाले सूर्यदेव र छठी माताको पूजा आराधनाका क्रममा बाँसबाट बनेका सामग्रीको प्रयोग गरिन्छ । पूजा सामग्री राख्नेदेखि प्रसाद र फलफूल सजाउनेसम्मका काममा ढक्की, डालो र सुप्पाको प्रयोग हुने गर्छ ।

कटैयाका बासिन्दाको यो पेसा छठपर्वमा मात्र सीमित छैन । वर्षभरि बजारको मागअनुसार विभिन्न प्रकारका सामग्री उत्पादन गर्ने गरिएको छ । घरायसी प्रयोजनका लागि प्रयोग हुने ढक्की, डालो, नाङ्लो र अन्य सामग्रीको माग नियमित रहने गरेको स्थानीय बताउँछन् । पर्व विशेषमा बिक्री बढ्ने भए पनि अन्य समयमा पनि यस पेसाबाट आम्दानी हुने गरेको छ । उत्पादित सामग्री बिक्री गर्न स्थानीयलाई टाढाको बजारसम्म पुग्नुपर्ने बाध्यता पनि कम छ । व्यापारीहरू सामग्री खरिद गर्न गाउँमै आउने गरेका छन् । यसले उत्पादकलाई बजार खोज्न र ढुवानीमा लाग्ने अतिरिक्त खर्च कम गर्न सहयोग पुगेको छ । गाउँमै बसेर उत्पादन गर्ने र व्यापारीमार्फत बिक्री गर्ने भएकाले धेरै परिवारले यसलाई नियमित आम्दानीको स्रोत बनाएका छन् ।

घरमै रोजगारी र आम्दानीको आधार

बाँसका सामग्री बनाउने काममा ठूलो उद्योग, आधुनिक मेसिन वा धेरै जनशक्ति आवश्यक पर्दैन । सामान्य औजार, बाँस र सीप भए घरमै बसेर यो काम गर्न सकिन्छ । परिवारका सदस्यले आफ्नो अनुकूल समयमा काम गर्न सक्ने भएकाले पनि ग्रामीण क्षेत्रका लागि यो पेसा उपयोगी बनेको छ । वैदेशिक रोजगारी वा अन्य व्यवसायमा जान नसक्ने तथा गाउँमै बसेर केही गर्न चाहनेका लागि बाँसका सामग्री उत्पादनले आयआर्जनको अवसर दिएको छ ।

यस पेसामा संलग्न परिवारले आफ्नो अनुभव र सीपका आधारमा विभिन्न आकार तथा प्रकारका सामग्री बनाउने गरेका छन् । बजारको मागअनुसार सामग्रीको आकार, बनावट र गुणस्तरमा ध्यान दिनुपर्ने हुन्छ । ग्राहकको आवश्यकता बुझेर सामग्री तयार पार्न सके बिक्री सहज हुने स्थानीयको अनुभव छ । यस पेसालाई थप व्यवस्थित बनाउन बाँसको सहज उपलब्धता, उचित मूल्य, उत्पादनको गुणस्तर र बजार विस्तारमा ध्यान दिनुपर्ने देखिन्छ । परम्परागत सीपलाई आधुनिक बजारको आवश्यकतासँग जोड्न सके यसबाट अझ राम्रो आम्दानी लिन सकिने सम्भावना छ । स्थानीयस्तरमै सीप विकास, उत्पादन विविधीकरण र बजारीकरणमा सहयोग पु¥याउन सके बाँसका सामग्री बनाउने पेसा ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्न सक्छ ।

सीपको सम्मान र सामाजिक परिवर्तनको सन्देश

कटैया गाउँमा विभिन्न समुदायका मानिस एउटै पेसामा आबद्ध हुनुले सामाजिक दृष्टिले पनि सकारात्मक सन्देश दिएको छ । परम्परागत रूपमा कुनै निश्चित जाति वा समुदायसँग जोडिएका पेसा अन्य समुदायले पनि अपनाउन थालेपछि पेसाप्रतिको सामाजिक दृष्टिकोणमा परिवर्तन आउन थालेको देखिन्छ । समाजमा लामो समयदेखि जात र समुदायका आधारमा पेसाको पहिचान गर्ने प्रवृत्ति रहँदै आएको छ । कतिपय पेसालाई निश्चित समुदायको कामका रूपमा हेर्ने सामाजिक सोच अझै पनि कायम छ तर कटैयाका बासिन्दाले सीप र श्रमलाई प्राथमिकता दिँदै यस्तो सोच परिवर्तन गर्न खोजेका छन् । 

बाँसका सामग्री बनाउने पेसाले कटैयाका बासिन्दालाई आर्थिक आम्दानी मात्र दिएको छैन, सामाजिक रूपमा स्थापित कतिपय परम्परागत मान्यतालाई पुनर्विचार गर्नसमेत प्रेरित गरेको छ । धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साहका अनुसार कटैयागाउँको यो अभ्यासले परम्परागत पेसा र सीपलाई जातीय घेराभन्दा माथि उठाएर हेर्नुपर्ने सन्देश दिएको छ । उहाँले भन्नुभयो, “कुनै पनि पेसा सानो वा ठूलो हुँदैन, त्यसमा लाग्ने सीप, मेहनत र इमानदार प्रयास नै महत्वपूर्ण हुन्छ भन्ने उदाहरण यहाँका बासिन्दाले प्रस्तुत गरेका छन् ।’’ उहाँले बाँसको चोयाबाट सामग्री बुनेर जीवनयापन गरिरहेका उनीहरूको प्रयासले स्थानीय स्रोतसाधनको उपयोग, स्वरोजगार र सामाजिक सद्भावलाई एकसाथ जोडेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button