मुन्दु–सेराको डिल जोड्ने झोलुङ्गे पुल निर्माण हुने

मुगु । कर्णाली प्रदेशका धार्मिक पर्यटकलाई मुगुको प्रसिद्ध ऋणमोक्ष धामसम्म पुग्न सहज बनाउने उद्देश्यसहित मुन्दु गाउँ र सेराको डिल जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ। पुल निर्माणका लागि तत्काल ३० लाख रुपैयाँ बजेट सुनिश्चित गरी टेण्डर प्रक्रिया अघि बढाइने भएको हो।
सडक अनुगमन तथा स्थानीय नागरिकका समस्या बुझ्न मुगु पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पुल निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित गरी तत्काल टेण्डर आह्वान गरिने बताउनुभएको छ।
पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक, लुवारपोल्नालगायत दर्जनौँ बस्तीका स्थानीयलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ। यसले स्थानीयको दैनिक आवागमन सहज बनाउनुका साथै कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ऋणमोक्ष धाम दर्शन गर्न आउने धार्मिक पर्यटकलाई समेत ठूलो राहत पुग्ने विश्वास गरिएको छ। पुल बनेपछि लामो दूरी घुमेर जानुपर्ने बाध्यता हट्नुका साथै यात्रा समयसमेत छोटिनेछ।
मुख्यमन्त्री शाहीसँगको सडक अनुगमन तथा स्थानीयसँगको भेटघाटका क्रममा कोटिला र मुन्दु गाउँका बासिन्दाले वर्षाका कारण बिग्रिएको सडक मर्मत गर्नुपर्ने, धार्मिक तथा पर्यटकीय महत्व बोकेको ऋणमोक्ष धामसम्म पुग्ने बाटो सुधार गर्नुपर्ने लगायतका समस्या र माग राखेका थिए।
स्थानीयका समस्या तथा माग सुनेपछि मुख्यमन्त्री शाहीले आवश्यकताका आधारमा योजनाहरू अघि बढाइने बताउनुभएको छ। पुल निर्माणको प्रक्रिया अघि बढाउने प्रतिबद्धताले लामो समयदेखि आवागमनको समस्या भोग्दै आएका स्थानीयसँगै ऋणमोक्ष धाम पुग्ने धार्मिक पर्यटकमा समेत आशा जगाएको छ।








प्रतिक्रिया राख्नुहोस्