तपाईँ सुन्दै हुनुहुन्छः

मधेसमा छठको रौनक, आकर्षक रूपमा सजाइए छठघाट

रौतहट । मधेस प्रदेशका जिल्लाहरूमा छठ पर्वको रौनक छाएको छ । सूर्यदेवको उपासना र आराधना गरी मनाइने छठ पर्वका लागि रौतहटसहित मधेसका विभिन्न जिल्लामा छठघाटलाई आकर्षक रूपमा सजाइएको छ ।

रौतहटका १८ वटै स्थानीय तहमा छठ पर्वका लागि छठघाट निर्माण तथा व्यवस्थापनको काम सम्पन्न भएको छ । नदी, पोखरी, तलाउ तथा जलाशयका किनारमा बनाइएका छठघाटलाई सरसफाइ गरी झिलिमिली बत्ती, रंगीन सजावट र पूजाका सामग्री राख्ने स्थानसहित आकर्षक बनाइएको छ । छठघाट सजावटले गाउँदेखि सहरसम्म पर्वको छुट्टै रौनक थपेको छ ।

आज दिउँसो २ बजेदेखि व्रतालु तथा श्रद्धालुहरू पूजाका सामग्रीसहित छठघाट पुग्नेछन् । अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि व्रतालुहरू रातभरि छठघाटमै जाग्राम बसेर सूर्यदेवको आराधना गर्ने परम्परा छ ।

भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि चार दिनसम्म श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको मुख्य विधि सम्पन्न हुनेछ । त्यसपछि व्रतालुहरू घर फर्किनेछन् ।

छठ पर्वका कारण रौतहटका बजार, गाउँ बस्ती र जलाशय आसपासका क्षेत्रमा उत्साह र चहलपहल बढेको छ । आस्था, अनुशासन, पवित्रता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको छठले मधेसका बस्तीहरूलाई भक्तिमय बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button