तपाईँ सुन्दै हुनुहुन्छः

प्रकृति र मानव जीवनको अटुट डोरी छठ पर्वले जोड्छ: प्रदेश प्रमुख भट्ट

कास्की । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूर्य देवता र छठी माताको पूजाआराधना गरी मनाइने पर्व छठ प्रकृति र मानव जीवनबिचको सम्बन्ध स्थापित गर्ने पर्व रहेको बताउनु भएको छ । छठ पर्वको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले मानव जीवनका लागि अनिवार्य जल, जमिन र सूर्यसँग जोडिएको छठ पर्वले प्रकृतिप्रतिको सम्मान पनि दर्साउने उल्लेख गर्नु भएको छ । प्रकृतिसँगको प्रगाढ प्रेम र आस्थाको प्रतीक छठ पर्व रहेको उहाँको भनाइ छ ।

खासगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ, पोखरालगायत पहाडी तथा हिमाली जिल्लाहरूमा समेत श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ । यसबाट धर्म संस्कृति, रीतिरिवाज तथा चाडपर्वले बीच आपसी सद्भाव र एकतालाई अभिवृद्धि गर्दै लगेको प्रष्ट हुने उहाँले बताउनु भएको छ ।

शुभकामना सन्देशमा उहाँले ‘शुद्धाशुद्धिमा विशेष ध्यान यो पर्वको अर्को विशेषता हो, जसले स्वास्थ्यलाई फाइदा पुर्‍याउन सघाइरहेको हुन्छ,’ भन्नु भएको छ । धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मनाइने यस्ता चाडपर्वले राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

प्रकृतिको पूजा गरिने छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै देशमा शान्ति र अमनचयन कायम गर्ने दिशामा प्रेरणा मिलोस् भन्ने शुभकामना उहाँले व्यक्त गर्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button