तपाईँ सुन्दै हुनुहुन्छः

राजनीति गतिविधिमा सक्रिय भएपछि शिक्षक साहले दिए राजीनामा

सर्लाही । राजनीति गतिविधिमा सक्रिय भए पछि सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ कालिन्जोरस्थित नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालयमा कार्यरत राहत शिक्षक रञ्जित साहले पदबाट राजीनामा दिनु भएको छ । 

शिक्षक साहले २०८३ साल असोज २३ गते विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्रअनुसार साह २०७५ साल असार १७ गतेदेखि उक्त विद्यालयमा निम्न माध्यमिक तहको तृतीय श्रेणीअन्तर्गत अङ्ग्रेजी विषयको करार (राहत अनुदान) कोटाको शिक्षक पदमा नियुक्त भई निरन्तर रूपमा अध्यापन गर्दै आउनु भएको थियो ।

करिब आठ वर्षदेखि विद्यालयमा शिक्षण सेवा प्रदान गर्दै आएका साहले आफु राजनीतिमा सक्रिय भएकोले  विशेष परिस्थितिका कारण कात्तिक १ गतेदेखि विद्यालयमा उपस्थित हुन नसक्ने अवस्था आएको भन्दै राजीनामा दिनुभएको हो । उहाँले आफ्नो अनुपस्थितिका कारण विद्यालयको शैक्षिक गतिविधिमा कुनै असर नपरोस् भन्ने मनसायले समयमै जानकारी गराएको पत्रमा उल्लेख गर्नु भएको छ । साथै, शिक्षा तथा शिक्षण पेसाप्रति सधैँ सम्मान रहने बताउँदै २०८३ साल कात्तिक १ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरिदिन विद्यालय प्रशासनसँग अनुरोध गर्नु भएको छ । 

यतिबेला साह राष्ट्रिय स्वतन्त्र पार्टी बाट हरिपुर नगरपालिकाको सम्भावित मेयर पदका उम्मेदवार भएको चौतर्फी चर्चा हुन थालेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button