तपाईँ सुन्दै हुनुहुन्छः

अभिभावक गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौँ । सांसदहरूले भोटेकोशी एवम् कालीगण्डकी करिडोर क्षेत्रमा विपद्बाट परिवारका सदस्य गुमाएका बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ । 

राष्ट्रिय सभा अन्तरगतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आज बसेको बैठकमा सांसदहरुले विपद् प्रभावित क्षेत्रबाट गैरकानुनी रुपमा बालबालिका ओसारपसार तथा मानव बेचबिखनका घटना रोक्न सुरक्षा संयन्त्रको अनुगमनलाई अझै सुदृढ बनाउनुपर्ने बताउनुभयो ।

विपद्बाट प्रभावित नागरिकका लागि मानसिक तथा मनोसामाजिक सेवाको निरन्तरता र प्रभावित बस्तीको पुनर्निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिनुभयो । 

यस्तै, सांसदहरुले बाढीका कारण अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षा तथा उचित स्वास्थ्य सेवाको व्यवस्था सुनिश्चित गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने औँल्याउनुभयो ।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले प्रभावित क्षेत्रका होल्डिङ सेन्टरहरूमा महिलामैत्री स्थलको व्यवस्था गरी महिला तथा किशोरीहरूको सुरक्षा, मर्यादा र स्वच्छता सुनिश्चित गरिएको बताउनुभयो ।

गर्भवती तथा सुत्केरी आमा र नवजात शिशुका लागि स्वास्थ्य सेवाको सुविधा तथा प्रभावित बालबालिकाहरूको शैक्षिक निरन्तरताको अधिकार सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाइएको पनि सचिव राउतले जानकारी गराउनुभयो । 

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलले प्रभावित क्षेत्रमा महामारीको जोखिम नदेखिएको स्पष्ट पार्नुभयो ।

प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाको निरन्तरता जारी रहेको, औषधि व्यवस्थापन, सरुवा रोगको जोखिम न्यूनीकरण, आमा तथा नवजात शिशुको पोषण र खानेपानीको गुणस्तरमा कुनै सम्झौता नभएको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button