स्थानीय उत्पादनले धान्दै पोखराको तिहार, दुई करोडको फूल बिक्री हुने अनुमान
कास्की। तिहारमा प्रयोग हुने फूल तथा मालामा पोखरा आत्मनिर्भर बन्दै गएको छ । यस वर्ष तिहार लक्षित गरी पोखरामा मात्रै दुई करोड रुपैयाँभन्दा बढीको फूल तथा मालाको कारोबार हुने अनुमान गरिएको छ ।

पोखरा महानगरपालिकाका अनुसार यस वर्ष बजारमा खपत हुने फूलमध्ये करिब ७० प्रतिशत स्थानीय उत्पादनले धान्नेछ । महानगरका विभिन्न वडाका करिब दुई सय रोपनी क्षेत्रफलमा सयपत्री तथा मखमली फूलखेती गरिएको छ । फूलखेतीमा एक सय ६५ जना किसान र ४२ वटा नर्सरी संलग्न छन् ।
महानगरले किसानलाई उन्नत बीउ र मल्चिङ प्लास्टिक खरिदमा ५० प्रतिशत अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनु भयो । फूल बिक्री नभए प्रतिकिलो ८० रुपैयाँ न्यूनतम समर्थन मूल्यमा महानगरले खरिद गर्ने व्यवस्था पनि मिलाएको छ ।
तथापि, यस वर्ष प्रतिकूल मौसमका कारण फूलखेतीमा केही क्षति पुगेको छ । तापक्रम बढ्दा एक सय २० दिनमा फुल्नुपर्ने फूल ९० दिनमै फुलेपछि करिब ३० प्रतिशत फूल तिहारअघि नै फुलिसकेको महानगरले जनाएको छ ।
यसैबीच, स्थानीय फूलको बजारीकरण र प्रवर्द्धनका लागि कात्तिक १८ देखि २३ गतेसम्म पोखरा रंगशालामा पुष्प व्यापार मेला आयोजना हुँदैछ । मेलामा २२ वटा व्यावसायिक स्टलसहित कृषि सामग्री तथा सूचनामूलक स्टल रहने आयोजकले जनाएको छ ।
तिहारपछि बाँकी रहने फूललाई धूप, प्राङ्गारिक रङ र चिया बनाउन प्रयोग गर्ने तयारीसमेत गरिएको महानगरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्