गाईघाटमा आजदेखि ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप’ सुरु, विजेताले ५ लाख पाउने
उदयपुर। उदयपुरको सदरमुकाम गाईघाटमा आज (शनिबार) देखि ‘त्रियुगा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ सुरु हुँदैछ। गाईघाट फुटबल क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

प्रतियोगिताबारे जानकारी दिन शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष रञ्जन कार्कीले खेल तालिका, पुरस्कार राशि तथा तयारीबारे जानकारी गराएका हुन्।
यसअघि शनिबार बिहानै गाईघाटस्थित मेनचोकमा त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेत र उपप्रमुख महेश्वरी राईले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका थिए।
विजेतालाई ५ लाख र उपविजेतालाई ३ लाख
प्रतियोगिताको विजेता टोलीले नगद ५ लाख रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। त्यसैगरी, प्रत्येक खेलका ‘म्यान अफ दि म्याच’का साथै उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर, प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिनेछ।
८ टोलीको सहभागिता, उद्घाटनमा आयोजक र सिरहा भिड्दै
त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका टोलीसँगै भारतको एक टोली गरी कुल ८ क्लबले प्रतिस्पर्धा गर्दैछन्। कात्तिक २१ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक गाईघाट फुटबल क्लब र सहलेश युवा क्लब, सिरहाबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतियोगिता सम्पन्न गर्न कुल ५१ लाख १ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्