तपाईँ सुन्दै हुनुहुन्छः

मोरङ-सुनसरीमा पूर्वाधार क्रान्ति: सडक र पुलले बदल्यो गाउँको मुहार

विराटनगर। सङ्घीयता कार्यान्वयनमा आएसँगै कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लामा सडक, पुललगायतका पूर्वाधार निर्माणका कार्य सम्पन्न भएसँगै स्थानीयलाई आवतजावतमा ठूलो सहजता मिलेको छ।

वर्षौँदेखि निर्माण हुन नसकेका खोलानालामा पक्की तथा झोलुङ्गे पुल निर्माण भएका छन् भने वर्षायाममा हिलाम्मे र घाम लाग्दा धुलाम्य हुने सडकहरू कालोपत्र तथा ग्राभेल गरिएका छन्। त्यसैगरी अधुरो अवस्थामा रहेका बहुवर्षीय सडक आयोजनाहरूसमेत सम्पन्न भएका छन्।

सङ्घीयता कार्यान्वयनसँगै आर्थिक वर्ष २०७५/०७६ मा स्थापना भएको भौतिक पूर्वाधार विकास कार्यालय, मोरङले आर्थिक वर्ष २०८२/०८३ सम्मको आठ वर्षको अवधिमा दुवै जिल्लामा उल्लेखनीय सफलता हासिल गरेको छ। कार्यालयका अनुसार यस अवधिमा ३ सय ४६ किलोमिटर कालोपत्र, ७ सय ६१ किलोमिटर ग्राभेल, ७ सय २९ किलोमिटर कच्ची सडक स्तरोन्नति हुनुका साथै १४ वटा पक्की सडक पुल र १३ वटा बहुवर्षीय सडक सम्पन्न भई सञ्चालनमा आएका छन्।

भौतिक पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख इन्जिनियर खरानन्द ईसरका अनुसार सुनसरीको धरान र वराहक्षेत्र नगरपालिका जोड्ने सर्दुखोलामा दुईवटा पक्की पुल र हरिनगरा गाउँपालिकाको महिमा खोलामा पक्की पुल निर्माण सम्पन्न भएका छन्।

यस्तै मोरङको मिक्लाजुङ गाउँपालिकाको मिक्लु खोला, बेलबारीको कायर तथा केशल्या खोला र सुन्दरहरैँचा नगरपालिकाको केशल्या खोलामा पनि पक्की पुल निर्माण भएका छन्। कानेपोखरीको डाँस खोला, सुनवर्षी नगरपालिकाको मरिया खोला र बुढीगङ्गा गाउँपालिकाको बुढी खोलामा गरी २० देखि ७५ मिटरसम्म लम्बाइका पक्की पुलहरू निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ।

त्यसैगरी बहुवर्षीय सडक आयोजनाअन्तर्गत मोरङको पुष्पलाल चोक (घिनाघाट) देखि विराटचोकसम्मको २२ किलोमिटर, शनिश्चरे बजारदेखि वीरेन्द्रनगरसम्मको ८ किलोमिटर, र बुढीगङ्गा गाउँपालिकाको नवज्योति मार्ग (खदराटोल हुँदै मनमोहन पोलिटेक्निक) सम्मको ७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ। किसानचोक–टाँडी–रवी–आइतबारे हुँदै मिक्लु खोलासम्मको १८ किलोमिटर, मोतीपुरको शुक्रबारे हटियादेखि गिदर्निया खोलासम्मको ८ किलोमिटर, विराटनगर वडा नं. १८ देखि जहदा गाउँपालिकाको सिमानासम्मको ६ किलोमिटर, रङ्गेली नगरपालिकाको दर्बेसादेखि धनपालथान गाउँपालिकासम्मको १४ किलोमिटर तथा दाम्राभिट्टा–उल्लुघुटु–सुवेदी चोक हुँदै कटनु झुनाबारीसम्मको ७ किलोमिटर सडकको निर्माण कार्य पूरा गरी सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख ईसरले जानकारी दिनुभयाे। स्थानीय आवश्यकताअनुसार विभिन्न खोलाहरूमा एक दर्जन्भन्दा बढी झोलुङ्गे पुलहरूसमेत निर्माण गरिएका छन्।

कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको उक्त कार्यालयमार्फत सडक तथा पुल निर्माणका दुई दर्जनभन्दा बढी आयोजनाहरू हाल पनि सञ्चालनमा रहेका छन्। सडक कालोपत्र, ग्राभेल, स्तरोन्नति तथा खोलामा पक्की पुल निर्माणका आयोजनाले क्षेत्रीय आवागमन र यातायात सुविधामा उल्लेख्य सुधार ल्याएका छन्।

सडक तथा पुल निर्माणले स्थानीय व्यापार, कृषि उपजको ढुवानी, शिक्षा, स्वास्थ्य र दैनिक जनजीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने भएकाले यस्ता आयोजना समयमै सम्पन्न हुनु आवश्यक मानिन्छ। पूर्वाधार निर्माणसँगै सम्बन्धित निकायले निर्माणको गुणस्तर, बजेटको प्रभावकारी उपयोग, ठेक्का व्यवस्थापन र समयसीमाको नियमित अनुगमन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button