तपाईँ सुन्दै हुनुहुन्छः

पानी शुद्धीकरण हुने गरी धनकुटामा बन्दैछन् दुई प्रशोधन केन्द्र, ११ सय परिवारलाई राहत

धनकुटा । वर्षायाममा खोलाको पानी धमिलो भएर धारामा आउने समस्याबाट धनकुटा बजारवासीले अब राहत पाउने भएका छन् । 

खानेपानी शुद्धीकरणका लागि धनकुटा बजारको स्कुलडाँडा र सल्लेरीमा निर्माण भइरहेका दुई ठूला प्रशोधन प्रणाली (ट्रिटमेन्ट प्लान्ट) सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । 

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले निर्माण गरिरहेका दुवै प्रशोधन प्रणाली सञ्चालनमा आएपछि वर्षायाममा धमिलो पानी आउने समस्यामा कमी आउने र उपभोक्ताले प्रशोधित खानेपानी पाउने कार्यालयले जनाएको छ । 

कुल एक करोड २० लाख रुपैयाँको लागतमा निर्माण भइरहेका यी दुई प्रशोधन प्रणालीबाट प्रतिसेकेन्ड २० लिटर पानी प्रशोधन गर्न सकिने बताइएको छ । आयोजना सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका वडा नम्बर ३, ४ र ६ का करिब ११ सय परिवार प्रत्यक्ष लाभान्वित हुने सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका प्रमुख हेराकाजी महर्जनले जानकारी दिनुभयो । महर्जनका अनुसार दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ‘दुवै प्रशोधन प्रणालीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।’, उहाँले भन्नुभयो, ‘सञ्चालनमा आएपछि तीनवटा वडाका ११ सय परिवारलाई प्रशोधित खानेपानी उपलब्ध हुनेछ ।’

यसअघि निर्माण गरिएका साना क्षमताका खानेपानी शुद्धीकरण प्रणाली पुराना हुँदै गएपछि नयाँ प्रशोधन पूर्वाधार निर्माण थालिएको महर्जनले बताउनु भयो । विशेषगरी वर्षायाममा पानी धमिलो आउने समस्यालाई समेत ध्यानमा राखेर प्रशोधन क्षमता बढाउन नयाँ प्रणाली निर्माण गरिएको हो । दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म हरेक घरमा स्वच्छ खानेपानी पुर्याउने उद्देश्यले खानेपानीका पूर्वाधार सुधार तथा विस्तारको काम भइरहेको महर्जनको भनाइ छ ।

धनकुटा सदरमुकाममा धनकुटा नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत खानेपानी आपूर्ति हुँदै आएको छ । समितिले बजार क्षेत्रका करिब चार हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । नयाँ प्रशोधन प्रणाली सञ्चालनमा आएपछि धनकुटा बजारको खानेपानी शुद्धीकरण क्षमता बढ्नुका साथै वर्षायाममा धमिलो पानी आउने समस्यासमेत न्यूनीकरण हुने खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव अर्जुन छाराहाङले बताउनुभयो । यसबाट स्थानीय बासिन्दाले स्वच्छ र सुरक्षित खानेपानी उपभोग गर्न पाउने विश्वास गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button