तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा १० हजार भूमिहीन सुकुम्वासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत

रुपन्देही । रुपन्देहीमा १० हजार भूमिहीन सुकुम्वासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् । 

जिल्ला सुकुम्वासी समस्या समाधान समितिका अनुसार असोज मसान्तसम्म जिल्लामा १० हजार भूमिहीन सुकुम्वासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत भएका हुन् ।

जिल्लाका अधिकांश स्थानीय तहले आफ्नो क्षेत्रका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको विवरण समितिलाई उपलब्ध गराइसकेका छन् । केही स्थानीय तहमा प्रमाणीकरणको काम बाँकी रहेकाले विवरण सङ्कलनमा ढिलाइ भएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले गत जेठ २१ गते नेपाल सरकारको निर्णयअनुसार जिल्ला–जिल्लामा समिति गठन गरिएको जानकारी दिनुभयो । जिल्ला समितिले गत असार २५ गतेभित्र स्थानीय तहमा रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको विवरण प्रमाणीकरण गरी तीन दिनभित्र पठाउन पत्राचार गरेको उहाँले बताउनुभयो ।

‘धेरै पालिकाले विवरण पठाइसकेका छन्,’ उहाँले भन्नुभयो, ‘प्रमाणीकरणको काम बाँकी रहेकाले केहीले पठाउन सकेका छैनन् ।’

समितिका अनुसार बुटवल उपमहानगरपालिकामा एक हजार २८१ भूमिहीन र १५ हजार ९७१ अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् । देवदह नगरपालिकामा ४९२ भूमिहीन र १६ हजार २४ अव्यवस्थित बसोबासी रहेका छन् । त्यस्तै, गैडहवा गाउँपालिकामा ७३६ भूमिहीन र तीन हजार ८४६ अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् । कञ्चन गाउँपालिकामा तीन हजार १२६ भूमिहीन र १० हजार ४७७ अव्यवस्थित बसोबासी रहेका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा १८३ भूमिहीन र २९९ अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् भने मायादेवी गाउँपालिकामा ३०१ भूमिहीन र ६७८ अव्यवस्थित बसोबासी रहेका छन् । सैनामैना नगरपालिकामा ७२९ भूमिहीन र १५ हजार ६६३ अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् ।

सम्मरीमाई गाउँपालिकामा ७४ भूमिहीन र एक जना अव्यवस्थित बसोबासी रहेका छन् । सिद्धार्थनगर नगरपालिकामा २४२ भूमिहीन र ६५ अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् । सियारी गाउँपालिकामा १८३ भूमिहीन र एक हजार २२३ अव्यवस्थित बसोबासी रहेका छन् । 

त्यसैगरी, शुद्धोधन गाउँपालिकामा ३३० भूमिहीन र एक हजार ५१२ अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् । तिलोत्तमा नगरपालिकामा दुई हजार ४८८ भूमिहीन र छ हजार १८३ अव्यवस्थित बसोबासी रहेका छन् । 

समितिका अनुसार जिल्लाका रोहिणी, ओमसतिया, मर्चवारी र कोटहीमाई गाउँपालिकाबाट भने भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको विवरण प्राप्त भएको छैन । स्थानीय तहबाट प्राप्त विवरणको प्रमाणीकरण र अभिलेखीकरण पूरा भएपछि भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि थप प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button