दसैँअघि रुपन्देहीका १६ मुसहर परिवारले पाए लालपुर्जा, वर्षौँदेखिको सपना पूरा

रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिकाका १६ भूमिहीन दलित मुसहर परिवारले जग्गाधनी प्रमाणपत्र अर्थात् लालपुर्जा प्राप्त गरेका छन् । वर्षौँदेखिको प्रतीक्षापछि गैडहवा गाउँपालिका–८ र ९ का परिवारले शुक्रबार लालपुर्जा प्राप्त गरेका हुन् ।
रुपन्देहीका अधिकांश बासिन्दा दसैँको किनमेलमा व्यस्त रहेका बेला लालपुर्जा प्राप्त गरेपछि मुसहर परिवारमा खुसी छाएको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।
कार्यक्रममा भूमि समस्या समाधान समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्याल र प्रमुख नापी अधिकृत मणिप्रसाद रेग्मीलगायतले लाभग्राहीलाई लालपुर्जा वितरण गर्नुभएको थियो । लालपुर्जा प्राप्त गरेपछि स्थानीयवासीले लामो समयदेखिको जग्गाधनी बन्ने प्रतीक्षा पूरा भएको भन्दै खुसी व्यक्त गरेका छन् ।
गाउँपालिका अध्यक्ष पौड्यालले लालपुर्जा प्राप्त गर्ने मुसहर परिवारलाई अब जग्गाधनी बनेको भन्दै हौसला प्रदान गर्नुभएको थियो । उहाँले भूमिहीन परिवारलाई लालपुर्जा वितरण गर्न २०७७ सालदेखि प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । प्रक्रिया पूरा गरेर लालपुर्जा वितरण गर्न चार वर्षभन्दा बढी समय लागेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्ने उद्देश्यले प्रत्येक वर्ष एक करोड रुपैयाँका दरले बजेट विनियोजन गर्दै आएको अध्यक्ष पौड्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा चार हजार पाँच सय भूमिहीन तथा अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् । उनीहरूलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया पनि अघि बढाइएको उहाँले बताउनुभयो ।
लालपुर्जा प्राप्त गरेपछि स्थानीय सोनमती मुसहरले सरकार र गाउँपालिकालाई धन्यवाद दिनुभयो । लामो समयदेखि जग्गाधनी बन्ने प्रतीक्षामा रहेका आफूहरूको सपना पूरा भएको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
गैडहवा गाउँपालिका–८ का वडाध्यक्ष भुवनबहादुर रानाले बाँकी रहेका भूमिहीन तथा सुकुम्बासी परिवारलाई पनि लालपुर्जा वितरण गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले वास्तविक भूमिहीन परिवारलाई जग्गाको स्वामित्व प्रदान गर्न सम्बन्धित निकायले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रमुख नापी अधिकृत रेग्मीले आवश्यक प्रक्रिया पूरा भएपछि दुई वडाका १६ भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो । लालपुर्जा प्राप्त गर्ने सबैको अभिलेख भूमि प्रशासन कार्यालयमा राखिने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले जिल्ला भूमि समस्या समाधान समितिले काम सुरु गरेपछि रुपन्देहीमा पहिलोपटक भूमिहीन दलित परिवारलाई लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार रुपन्देही जिल्लामा १० हजार भूमिहीन सुकुम्बासी र ७२ हजार अव्यवस्थित बसोबासी सूचीकृत भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्