विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन सुरु भएको छ।
प्रदेशका मुख्यमन्त्रीहरूले सामूहिक रूपमा डिजिटल प्रविधिमार्फत मुख्यमन्त्री सम्मेलनको उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहमा मुख्यमन्त्रीहरूले मन्तव्य राख्दै सहकार्य, समन्वय र सहअस्तित्वलाई जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीयताबाट प्राप्त उपलब्धिको रक्षा गर्दै लोकतन्त्रलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो। उहाँले कतिपय पूरा हुन नसकेका जनअपेक्षामा टेकेर भ्रम सिर्जना गरिएको बताउँदै तथ्यगत रूपमा भ्रमलाई चिर्दै समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
संविधानले दिएको अधिकार प्रयोग गर्ने प्रक्रियामा अस्पष्टता रहेको र ऐनकानुन बनाउँदा ढिलो भएकाले प्रशासनिक र वित्तीय क्षेत्रमा समस्या उत्पन्न भएको मुख्यमन्त्री शाहीले औँल्याउनुभयो। उहाँले आफ्ना प्रदेशका विशेषताहरूलाई एकआपसमा समन्वय र सहकार्य गरी समृद्धि हासिल गर्न आग्रह गर्नुभयो।
उद्घाटन सत्रमा बोल्नुहुँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले नेपालको संविधानले निर्दिष्ट गरेका अधिकारहरू हस्तान्तरण गर्न आलटाल गरेको बताउनुभयो। उहाँले प्रदेशका अधिकारहरू हस्तान्तरण गर्ने विषयमा संघीय सरकारले नजरअन्दाज गरिरहेको चर्चा गर्दै प्रहरी ऐन र निजामती ऐन छिटो ल्याउन आग्रह गर्नुभयो। कतिपय ऐनहरू ल्याउने प्रक्रियामा पनि आतङ्क सिर्जना गर्ने जस्तो देखिएको उहाँले आरोप लगाउनुभयो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयतालाई बलियो बनाउनेतर्फ यसअघिको सरकारको नेतृत्व गरेका दलहरूले नसकेको चर्चा गर्दै पटक पटक आवाज उठाउँदा पनि आश्वासन मात्रै पाएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “कतिपय अवस्थामा यस्तो लाग्छ कि तत्कालीन अवस्थामा संविधान लेख्न र त्यतिखेरको विद्रोह दबाउन मात्रै सङ्घीयता बनाइएको हो कि, नत्र किन यस्तो अधिकारविहीन बनाइयो?”
अहिले प्रदेश संरचनामाथि प्रहार भइरहेको चर्चा गर्दै उहाँले प्रशासनिक खर्च अन्य तहको तुलनामा न्यून हुँदा पनि यसलाई सेतो हात्ती भनेर चर्चा गरिने गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “प्रदेश सरकारले अन्य सरकारको तुलनामा अत्यन्तै कम खर्च गरेको छ, तर यसैले गरेन जस्तो गरेर प्रहार भइरहेको छ। प्रदेश सरकारले काम गरेन, दौडेन भनेर प्रहार हुन्छ। तर संघीय सरकारले हातखुट्टा बाँधेको छ। हातखुट्टा बाँधेर दौड भन्दा कसैले सक्छ?” उहाँले प्रतिप्रश्न गर्नुभयो।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले जलवायु परिवर्तन र यसले पारेको प्रभावका विषयमा प्रदेश सरकारहरूको धारणा र नीति एउटै हुनुपर्ने चर्चा गर्दै जलवायु परिवर्तनका मुद्दामा प्रदेशहरू एक हुनुपर्ने बताउनुभयो। मुख्यमन्त्री थापाले जलवायु परिवर्तनबाट उत्पन्न हुने क्षति न्यूनीकरणका लागि प्रदेशहरूबिच पनि बलियो कोष बनाउन जरुरी रहेको चर्चा गर्नुभयो। कानुनी अप्ठ्याराहरूलाई चिर्दै संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरूको सहकार्य र समन्वयलाई अझ बलियो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशहरूको सहकार्य र साझा अवधारणा बनाएर विकास र समृद्धिलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो। उहाँले अन्तरप्रदेश साझेदारीको विषयलाई जोड दिँदै प्रदेशहरूबिच साझा लगानीका विषय खोजेर काम गर्नुपर्ने औँल्याउनुभयो। प्रदेशहरूबिचको धार्मिक सर्किटबाट पर्यटन प्रवद्र्धन गर्न पनि उहाँले जोड दिनुभयो। संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा समृद्धिको यात्रालाई पनि बलियो बनाएर लैजानुपर्ने धारणा यादवले राख्नुभयो।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अब प्रदेश सरकारहरूले गुनासो मात्रै गरेर होइन, आफ्नो अधिकारभित्र रहेर काम पनि अगाडि बढाउनुपर्ने अवस्था रहेको चर्चा गर्नुभयो। सङ्घीयता कार्यान्वयनमा देखिएका जटिलताका विषयमा निष्कर्ष निकाल्दै प्रधानमन्त्रीसम्म पु¥याएर छलफल गरिने उहाँले बताउनुभयो।
अहिलेको यो सम्मेलन संघीय सरकारको आलोचना गर्न नभई आफ्ना मुद्दा, आपसी हित र छलफलका लागि सकारात्मक अभ्यासलाई अगाडि बढाउन आयोजना गरिएको उहाँले धारणा राख्नुभयो।
मुख्यमन्त्री कार्कीले यसअघि आफ्नै पार्टीहरूको सरकार हुँदा पनि प्रदेशका अधिकार दिन आलटाल गरिएको चर्चा गर्दै अहिले नयाँ बनेको चार–पाँच महिनाको सरकारसँग आफ्नो कुनै गुनासो नरहेको स्पष्ट पार्नुभयो। उहाँले प्रदेशहरूले जलवायु परिवर्तनका विषयमा स्पष्ट धारणा बनाएर जानुपर्ने चर्चा गर्दै यो मुद्दामा सबै एक ठाउँमा उभिनुपर्ने औँल्याउनुभयो।
कोशी प्रदेशको आयोजनामा भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन भोलिसम्म चल्नेछ। प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्ने र त्यसको निष्कर्षलाई संघीय सरकारसम्म पु¥याउने योजना रहेको छ। कार्यक्रममा मुख्यमन्त्रीहरूसँग उद्योगी–व्यवसायीको छलफल पनि हुनेछ। प्रदेशका मुख्यमन्त्रीहरूलाई कोशी प्रदेशको पर्यटन प्रवद्र्धनका लागि भोलि कोशी घुमाउने कार्यक्रमसमेत रहेको छ।








प्रतिक्रिया राख्नुहोस्