तपाईँ सुन्दै हुनुहुन्छः

आधुनिक प्रविधिले हुलाकको सान्दर्भिकता विस्थापित गर्न सक्दैन: मन्त्री तिमिल्सिना

'बिसे नगर्ची र बाङ्गे सार्कीसहितका व्यक्तित्व अङ्कित हुलाक टिकटमा टाँचा'

काठमाडौँ। सरकारले हुलाक सेवालाई ‘सरकारी कुरियर’ सेवाका रूपमा विकास गर्ने कार्यको थालनी गरेको जनाएको छ।

१५२ औँ विश्व हुलाक दिवसका अवसरमा हुलाक सेवा विभागद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई आधुनिक प्रविधिले विस्थापित गर्न नसक्ने बताउनुभयो।

सूचना र प्रविधिको द्रुत विकास भइरहेको वर्तमान युगमा समेत हुलाक सेवाको सान्दर्भिकता नघटेको उल्लेख गर्नुहुँदै मन्त्री तिमिल्सिनाले नेपालको सञ्चार क्षेत्रको विकासमा हुलाक ऐतिहासिक संस्थाका रूपमा रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलले नेपालको हुलाक सेवामा पुनर्जागरणको युग सुरु भएको दाबी गर्नुभयो। त्यसैगरी, हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले सरकारले हुलाक सेवाको अनवरत यात्रालाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने गरी काम अघि बढाएको जानकारी दिनुभयो।

सो अवसरमा नेपालका लागि बेलायती राजदूत रोब फेन (Rob Fenn) ले विश्व सञ्चार इतिहासमा सुनौलो यात्रा पार गरेको हुलाक सेवा नेपालमा मात्र नभई विश्वभर नै पुनर्जागृत भइरहेको बताउनुभयो।

नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्ररवी श्रेष्ठले हुलाक टिकटको खोज, अध्ययन, अनुसन्धान तथा सङ्कलनमार्फत नेपालको सांस्कृतिक र ऐतिहासिक पक्षको संरक्षणमा युवा पुस्ताले चासो दिनुपर्नेमा जोड दिनुभयो।

ऐतिहासिक व्यक्तित्वहरूका टिकटमा टाँचा
कार्यक्रममा नेपाल राष्ट्र निर्माण तथा एकीकरणमा ऐतिहासिक योगदान पुर्‍याउने बिसे नगर्ची र बाङ्गे सार्की एवं प्रथम विश्वयुद्धमा प्रथम पटक भिक्टोरिया क्रस (VC) प्राप्त गर्ने कुलवीर थापा मगर र कर्णबहादुर राणा मगरको तस्वीर अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरिएको छ।

यसैगरी, टेलिभिजन आविष्कारको १०० वर्ष पुगेको अवसरमा टेलिभिजनका आविष्कारक जोन लोगी बेयर्ड (John Logie Baird) को तस्वीर अङ्कित हुलाक टिकटमा पनि टाँचा प्रदान गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button