तपाईँ सुन्दै हुनुहुन्छः

रामलाल गोल्छा आँखा अस्पतालद्वारा १ लाख ४२ हजारको मोतियाविन्दुको शल्यक्रिया

 विराटनगर । रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसन विराटनगरले स्थापना भएदेखि हालसम्म १ लाख ४२ हजार ५ सयको मोतियाविन्दुको शल्यक्रिया गरेको जनाएको छ ।

शल्यक्रिया गरिएकामध्ये ५२ प्रतिशतलाई निःशुल्क सेवा प्रदान गरिएको फाउन्डेसनले जनाएको छ । विश्व दृष्टि दिवसको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा फाउन्डेसनका उपाध्यक्ष श्याम पौडेलले सन् १९८३ मा स्थापना भएको अस्पताल पूर्वी नेपालकै पहिलो आँखा अस्पताल भएको जानकारी दिनुभयो ।

 अस्पतालकी दृष्टि विशेषज्ञ संगीता ताजपुरियाका अनुसार अस्पतालले हालसम्म बहिरङ्ग सेवामार्फत १९ लाखभन्दा बढीलाई सेवा प्रदान गरेको छ । अस्पतालले आँखासम्बन्धी विभिन्न रोगको उपचार, आधुनिक शल्यक्रिया तथा अनुसन्धानका काम गर्दै आएको उहाँले बताउनुभयो ।

 अस्पतालका म्यानेजर नवीनचन्द्रसिंह राजवंशीले अस्पतालबाट वार्षिक ७० हजार बिरामीले उपचार सेवा लिने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसनअन्तर्गत कोशी र मधेश प्रदेशमा गरी आठवटा उपचार केन्द्र सञ्चालनमा छन् । अस्पतालले गरिब तथा विपन्न वर्गका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

 कोशी प्रदेशमा गरिएको राष्ट्रिय दृष्टिविहीनता सर्वेक्षण (आरएएबी) २०१८–२०२० अनुसार ५० वर्ष वा सोभन्दा माथिका ८ हजार ५९८ जना विभिन्न कारणले दृष्टिविहीन रहेको अनुमान छ । तीमध्ये ३ हजार २३८ जनाको दृष्टिविहीनताको कारण मोतियाविन्दु रहेको अनुमान गरिएको छ ।

 रामलाल गोल्छा आँखा अस्पताल फाउन्डेसनअन्तर्गत विराटनगर आँखा अस्पताल, मेची आँखा अस्पताल, डा. रामप्रसाद पोखरेल सामुदायिक आँखा अस्पताल र धनकुटा आँखा अस्पताललगायतका प्रमुख सेवा केन्द्र सञ्चालनमा छन् ।

 विश्वभर हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाइन्छ । आँखाको स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले मनाइने यस वर्षको दिवसको नारा ‘आफ्ना आँखालाई माया गरौँ’ रहेको  छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button