बाँकेका तीन ठाउँमा पर्व लक्षित यात्रु सहायता कक्ष स्थापना

नेपालगञ्ज । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बाँकेको जमुनाहा नाका, नेपालगञ्ज बसपार्क र कोहलपुर बसपार्कमा संयुक्त यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो ।
भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उहाँले बताउनुभयो । ‘नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सम्भावित जोखिम पहिचान गरी सोही अनुसार सुरक्षा योजना लागू गरेका छौँ,’ तामाङले भन्नुभयो, ‘भारतबाट फर्किने नेपालीले बाटोमा ठगी, लुटपाट लगायतका समस्या भोग्न नपरोस् भनेर यात्रु सहायता कक्ष सञ्चालन गरिएको हो ।’
भारतमा रोजगारीका लागि गएका नेपाली चाडपर्वका बेला ठूलो सङ्ख्यामा स्वदेश फर्किने भएकाले जमुनाहा नाकामा यात्रुको चाप बढ्ने गरेको उहाँले बताउनुभयो । यात्रुको सहजता र सुरक्षाका लागि सहायता कक्षबाट आवश्यक सूचना, समन्वय तथा सहयोग उपलब्ध गराइने उहाँले बताउनुभयो ।
बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा योजना लागू गरिएको बताउनुभयो । भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउने गरी सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
भारतबाट फर्किने नेपालीको चापलाई लक्षित गरी जमुनाहा नाकामा सोमबारदेखि तथा नेपालगञ्ज र कोहलपुर बसपार्कमा मंगलबारदेखि यात्रु सहायता कक्ष सञ्चालन गरिएको जिसीले जानकारी दिनुभयो । सहायता कक्षमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरी समेत परिचालन गरिएको छ । यात्रुको सुरक्षा, यातायात व्यवस्थापन, ठगी तथा लुटपाट नियन्त्रण र आवश्यक समन्वयका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्