लगातारको वर्षाले अनन्ते मेला प्रभावित
बाजुरा। सदरमुकाम मार्तडीलगायतका क्षेत्रमा हरेक वर्ष लाग्ने स्थानीय सांस्कृतिक पर्व अनन्ते मेला लगातारको वर्षाले प्रभावित भएको छ । शनिबारबाट विधिवत् रूपमा सुरु भएर असोज ११ र १२ गते लाग्ने मेला वर्षाका कारण अब असोज १५ र १६ गते लाग्ने भएको हो ।
सदरमुकाम मार्तडीमा लाग्ने अनन्ते मेलालाई व्यवस्थित र मर्यादित बनाउन शनिबार बडिमालिका नगरपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले मेला लाग्ने मिति परिवर्तन गरेको छ । बैठकले वडाध्यक्ष थापाको संयोजकत्वमा सात सदस्यीय मेला व्यवस्थापन समिति गठन गर्दै सो अवधिभर मदिरा बिक्रीवितरण तथा सेवन गरी मेला बिथोल्ने प्रयास गरे प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।
यहाँ अनन्ते मेलालाई दसैँपछिको ठूलो महत्त्वपूर्ण पर्वका रूपमा मनाइने गरिन्छ । तीन दिनदेखि पाँच दिनसम्म लाग्ने मेला महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवहरूले विजय हासिल गरेको खुसीयालीमा पाण्डवका पक्षमा तथा न्यायका पक्षधरहरूले विजयी उत्सवका रूपमा मनाउने गरेको स्थानीय जानकार शेरबहादुर रावलले बताउनुभयो । उहाँका अनुसार मेलामा लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल, लडाइँको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गरिन्छ । मेला हिन्दूहरूले मान्ने सोह्र श्राद्ध सुरु भएकै दिनबाट सुरु हुन्छ ।
अन्यायको अन्त्य भन्ने शब्द अपभं्रस भएर अनन्ते शब्दको उत्पत्ति भएको किंवदन्ती रहेको छ । व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकाले यो पर्व पूर्णिमाको दिनबाट सुरु भएर भगवान्को भजनकीर्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदायबीच गीत मागलसँगै बिजुराका गाथाको माध्यमद्वारा मेला मनाउने गरेको रावलले बताउनुभयो । संस्कृतिको जगेर्नासँगै आफन्तसँगको भेटघाट र मित्रताको सुरुआतको सङ्केतका रूपमा पनि अनन्ते पर्वलाई मनाउने गरिन्छ ।





प्रतिक्रिया राख्नुहोस्