कोशी ब्यारेजमा पानीको बहाव २ लाख ७८ हजार २७५ क्युसेक मापन, ३७ वटा ढोका खोलियो
सुनसरी । कोशी ब्यारेजमा पानीको बहाव बढेर आज बेलुकी ७ः०० बजेको मापनअनुसार दुई लाख ७८ हजार २७५ क्युसेक पुगेको छ ।
पानीको बहाव खतरा तहमा पुगेकाले ३७ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । कोशी ब्यारेजमा पानीको बहाव निरन्तर बढ्दै गएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
ब्यारेजमा पानीको सतह बढ्दो क्रममा रहेको र अवस्था खतरा तहमा पुगेकोमा सतर्कताका लागि अपिल र माईकिङ्ग समेत गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो ।
पानीको बढ्दो बहावलाई ध्यानमा राख्दै कोशी नदी आसपास तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

नदी किनार, तल्लो तटीय क्षेत्र तथा जोखिमयुक्त स्थानमा रहेका बासिन्दाले सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानतर्फ जान आवश्यक सावधानी अपनाउनुपर्ने देखिएको उहाँको छ । पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले सम्बन्धित निकायले नदीको अवस्था निरन्तर निगरानी गरिरहेका छन् ।
सप्तकोशी नदीमा कोशी ब्यारेज भएर पानीको बहाव वृद्धि भइरहेका बेलामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, उद्योग कृषि तथा सहकारी मन्त्री रामप्रसाद मेहतासहितका कोशी प्रदेशका सुरक्षा अधिकारीहरुले कोशी ब्यारेजको निरीक्षण गर्नुका साथै पानी बहावको अवस्थाको विषयमा कोशी ब्यारेज कन्ट्रोल रुममा जानकारी लिनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्