कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

बागमती । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जलसतह बढ्न नदिन तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन गरी विद्युत् उत्पादन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै लगातार पानी परिरहेको अवस्थामा जलाशयको जलसतह बढ्न सक्ने जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम उपयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभयो।
उहाँका अनुसार हाल कुलेखानी जलाशयको जलसतह एक हजार पाँच सय २२ दशमलव ७५ मिटर रहेको छ। तीनवटै युनिट पूर्ण क्षमतामा सञ्चालन भइरहेकाले जलसतह धेरै बढ्न नपाएको उहाँले बताउनुभयो।
कूल एक सय छ मेगावाट क्षमताको कुलेखानी आयोजनाका पहिलो, दोस्रो र तेस्रो युनिटबाट क्रमशः ६०, ३२ र १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
जलसतह एक हजार पाँच सय २७ मिटर पुगेपछि सम्भावित जोखिमबाट जोगिन सर्वसाधारणलाई सतर्क गराउन साइरन बजाउने व्यवस्था गरिएको प्रमुख राउतले जानकारी दिनुभयो।








प्रतिक्रिया राख्नुहोस्