तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा भारी वर्षाको जोखिम, उद्धारका लागि सशस्त्र प्रहरीको टोली र उपकरण तयारी अवस्थामा

रुपन्देही । लुम्बिनी प्रदेशमा बुधबार रातिदेखि भइरहेको भारी वर्षा अझै तीन दिनसम्म जारी रहन सक्ने पूर्वानुमानपछि विपद् जोखिम न्यूनीकरण तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले आवश्यक तयारी तीव्र पारेको छ । 

बाढी, डुबान तथा कटानको जोखिम रहेका क्षेत्रमा उद्धार टोलीसँगै र्याफ्ट बोट, मोटरबोट र आवश्यक उपकरण तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयले जनाएको छ ।

पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियामा गरी १५ वटा र्याफ्ट बोट र पाँच वटा मोटरबोट तयारी अवस्थामा राखिएको छ । आवश्यक परे नदी तथा जलमग्न क्षेत्रमा तत्काल उद्धार गर्न सकिने गरी ती साधन परिचालनका लागि तयार पारिएको हो ।

बाहिनीअन्तर्गत विपद् प्रतिकार्यका लागि ४ सय ४ जना विशेष तालिमप्राप्त जनशक्ति तयारी अवस्थामा छन् । त्यसमध्ये विपद् व्यवस्थापनतर्फ ३ सय १३, शव व्यवस्थापनतर्फ १५, रोप रेस्क्युमा २४, गोताखोर ११, उच्च हिमाली उद्धारतर्फ पाँच, मेडिकलतर्फ १४, सीएसएसआरतर्फ २० तथा ड्रोन र के–नाइनतर्फ एक–एक जना छन् ।

आवश्यकताअनुसार लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा १ हजार ६ सय ३२ जना सशस्त्र प्रहरी परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको बाहिनीका प्रहरी नायव महानिरीक्षक दीपक अधिकारीले जानकारी दिनुभयो ।

मनसुनजन्य विपद्को प्रतिकार्यलाई प्रभावकारी बनाउन रुपन्देहीको सुरक्षा बेस बुटवलसहित दाङ, बाँके, पाल्पा र गुल्मीलगायत सात स्थानमा विपद् प्रतिकार्य बेससमेत स्थापना गरिएको छ । समुदायस्तरमा रहेका २४ हजार ६ सय ५ जना विपद् सूचक तथा स्वयंसेवकलाई समेत आवश्यकताअनुसार परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको बाहिनीका सूचना अधिकारी वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताउनुभयो ।

यसैबीच, रुपन्देहीमा बाढी, डुबान र कटानको जोखिम रहेका नौ क्षेत्र पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी तीव्र पारेको छ । 

समितिका अनुसार बुटवलको तिनाउ नदी क्षेत्र, तिनाउ नदीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र मायादेवी गाउँपालिकादेखि दक्षिणसम्मका नदी आसपासका क्षेत्र जोखिममा छन् । तिनाउ र दानव नदी करिडोर आसपासका बस्ती तथा बजार, रोहिणी नदी आसपासका तटीय क्षेत्र, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, देवदह र सैनामैना नगरपालिका क्षेत्रका खोला तथा नदी आसपासका स्थानलाई पनि जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ ।

मर्चवार र मझगाँवासहित दशगजा आसपासका क्षेत्र, कञ्चन खोला तथा नदी आसपासका क्षेत्र र पूर्व–पश्चिम राजमार्ग तथा अन्य सडकमा डुबान र कटानका कारण यातायात अवरुद्ध हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन भनिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

समितिले जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र २४ सैँ घण्टा सञ्चालन गर्ने, सुरक्षा निकायका सञ्चार उपकरण पूर्ण चार्ज अवस्थामा राख्ने तथा विद्युत् अवरुद्ध भए जेनेरेटर र इन्भर्टरको व्यवस्था गर्न निर्देशन दिएको छ ।

मोबाइल तथा अन्य सञ्चार सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रत्येक टोलमा स्थानीय स्वयंसेवक वा युवा क्लबका सदस्यलाई सूचना दूतका रूपमा परिचालन गर्ने निर्णय गरिएको छ । स्थानीय तहलाई जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकताअनुसार विद्यालय तथा पक्की भवनमा अस्थायी रूपमा स्थानान्तरण गर्ने र वडा तहमा उद्धार सामग्री तयारी अवस्थामा राख्न भनिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायका खोज तथा उद्धार टोलीलाई आवश्यक औजारसहित तयारी अवस्थामा राखिनेछ ।

स्वास्थ्य संस्था तथा अस्पताललाई आकस्मिक औषधि, सलाइन, एन्टिबायोटिक्स र प्राथमिक उपचार सामग्री पर्याप्त मौज्दात राख्न तथा एम्बुलेन्सलाई इन्धनसहित तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ । सडक डिभिजन, हेभी इक्युमेन्ट डिभिजन तथा बुटवल–गोरुसिङ्गे सडक आयोजनालाई राजमार्ग तथा सडकमा बाढी, पहिरो, माटो वा नदीजन्य पदार्थका कारण अवरोध भए तत्काल हटाउन आवश्यक उपकरणसहित तयारी अवस्थामा रहन भनिएको छ ।

यस्तै, नदी तथा खोलाको बहाव बढ्न सक्ने भएकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई माइकिङ तथा स्थानीय सूचना संयन्त्रमार्फत सतर्क गराउन स्थानीय तहलाई निर्देशन दिइएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले असोज ९ देखि ११ गतेसम्म लामो दूरीको यात्रा नगर्न तथा अत्यावश्यकबाहेक यातायात सञ्चालन नगर्न अनुरोध गर्ने निर्णय गरेको छ । जोखिमयुक्त सडकखण्डमा भारी वर्षाका बेला रात्रिकालीन तथा अत्यावश्यकबाहेकका यातायात रोक्ने व्यवस्था मिलाइने भएको छ।

मौसमको अवस्था हेरेर विद्यालय बन्द गर्नुपर्ने भए सम्बन्धित स्थानीय तहले आवश्यक निर्णय गर्न सक्नेछन् । खाद्य तथा इन्धनको आपूर्ति र भण्डारण सुनिश्चित गर्नसमेत स्थानीय तहलाई निर्देशन दिइएको छ । 

विपद् पूर्वतयारी र प्रभावकारी समन्वयबाट ठूलो धनजनको क्षति रोक्न सकिने भएकाले सबै सरोकारवाला निकायलाई पूर्व तयारी सम्बन्धी निर्णय तत्काल कार्यान्वयन गर्न जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button