बिहे भोजबाट फर्किँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका–१ करुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
बिहीबार साँझ करिब ५ः०० बजे भिरकोट नगरपालिका–३ बजादीमा विवाहको भोज खाएर बयरघारीतर्फ फर्किँदै गरेको ग१ज ७६१० नम्बरको जीप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा भएको हो ।
प्रहरीका अनुसार घुम्तीमा पुग्दा जिपको स्टेरिङ लक भएपछि चालकले मोड्न नसक्दा जिप सडकबाट तल पल्टिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनापछि वडा प्रहरी कार्यालय वालिङ र प्रहरी चौकी दहथुमबाट १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा चालकसहित ११ जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि भिरकोट नगर अस्पताल लगिएको थियो ।
उपचारका क्रममा पुतलीबजार नगरपालिका–१० का ७६ वर्षीय उत्तमसिंह गुरुङलाई चिकित्सकले साँझ ५ः१५ बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
घाइते मध्ये स्याङ्जा भिरकोट नगरपालिका–२ का ५० वर्षीय जीप चालक खेमप्रसाद गुरुङ प्रहरी नियन्त्रणमा छन् ।
घाइते हुनेमा पोखरा महानगरपालिका–८ की ३२ वर्षीया सारा गुरुङ, बिरुवा गाउँपालिका–२ का ६३ वर्षीय खड्क गुरुङ, पुतलीबजार–१२ का ५१ वर्षीय रुमबहादुर गुरुङ, बिरुवा–२ की ४९ वर्षीया कृष्णमाया गुरुङ, बिरुवा–७ की ५५ वर्षीया केशमाया गुरुङ, बिरुवा–२ का ६० वर्षीय यमबहादुर गुरुङ, सोही स्थानका ५३ वर्षीय मनबहादुर गुरुङ, पुतलीबजार–१० का ८० वर्षीय पदमबहादुर गुरुङ, नवलपरासी घर भई हाल भिरकोट २ दहथुम बस्ने ४३ वर्षीया रस माया गुरुङ र भिरकोट ३ बजादीकी ४९ वर्षीया तेजकुमारी गुरुङ रहेका छन् ।
घाइते मध्ये अधिकांशको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।







प्रतिक्रिया राख्नुहोस्