पाकिस्तान–अफगानिस्तान सीमामा फेरि तनाव
पेसावर । पाकिस्तानका स्थानीय अधिकारीहरूले अफगान तालिबान सेनाले रातभर पाकिस्तानी सीमा चौकीमा मोर्टार तथा अन्य भारी हतियारबाट गोलाबारी गरेको बताएका छन् । काबुलले भने आफ्ना सुरक्षाकर्मीले त्यस्तो कुनै आक्रमण नगरेको दाबी गरेको छ ।
पाकिस्तानी अधिकारीहरूका अनुसार पाकिस्तानी सेनाले आतङ्कवादी समूहको सीमापार घुसपैठ प्रयास विफल पारेपछि अफगान तालिबान सेनाले सीमा चौकीलाई लक्षित गरी गोलाबारी गरेको हो । पाकिस्तानी सेनाले जवाफी कारबाहीमा तालिबानका सीमा चौकी, मोर्टार प्रहार गर्ने स्थान र अन्य रक्षात्मक संरचनालाई तोपखानाबाट निशाना बनाएको उनीहरूले बताएका छन् ।
चारजना स्थानीय अधिकारीका अनुसार पक्तिया र नङ्गरहार प्रान्तमा अफगान सीमाबाट आतङ्कवादीहरूले पाकिस्तान प्रवेश गर्ने प्रयास गरेका थिए । पाकिस्तानले पाकिस्तानी तालिबानका लागि प्रयोग गर्ने ‘फितना–उल–खवारीज’ नामले उनीहरूलाई सम्बोधन गर्दै आएको छ । पाकिस्तानी अधिकारीहरूले अफगान तालिबान सरकारमाथि आफ्नो भूमिबाट आतङ्कवादी गतिविधि सञ्चालन गर्न दिएको आरोप लगाउँदै आएका छन् भने काबुलले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
अधिकारीहरूले पाकिस्तानी सेनाले घुसपैठ विफल पारेपछि अफगान तालिबान सेनाले गोलाबारी गरेको र जवाफी कारबाहीपछि उसका केही सुरक्षाकर्मीले स्थान छाडेको तथा हताहत भएको दाबी गरेका छन् । उनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा पछिल्लो घटनाबारे जानकारी दिएका हुन् । यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
यसअघि पाकिस्तानी लडाकु विमानले पूर्वी अफगानिस्तानमा आतङ्कवादीका आश्रयस्थल भन्दै केही स्थानमा हवाई आक्रमण गरेको थियो । सोमबारको उक्त आक्रमणमा पाकिस्तानको सूचना मन्त्रालयले २८ जना आतङ्कवादी मारिएको दाबी गरेको थियो भने अफगान अधिकारीहरूले कम्तीमा तीन सर्वसाधारणको मृत्यु र चारजना घाइते भएको बताएका थिए । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय मिसनले पनि नागरिक हताहत भएको पुष्टि गर्दै आएको छ ।
पछिल्लो घटनाक्रमले पाकिस्तान र अफगानिस्तानबीच स्थायी शान्ति कायम गर्न चीन, टर्की, कतार र साउदी अरेबियाले गरिरहेका मध्यस्थता प्रयास प्रभावित हुनसक्ने चिन्ता बढाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा न्युयोर्कमा आयोजित एक कार्यक्रममा पाकिस्तानी विदेशमन्त्री इशाक दारले अफगानिस्तानमा दुई दर्जनभन्दा बढी पाकिस्तानविरोधी आतङ्कवादी समूहको उपस्थितिप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।
यसैबीच, पाकिस्तानी अधिकारीहरूले उत्तरपश्चिमी पाकिस्तानको कोहाटतर्फ प्रवेश गर्नुअघि अफगान तालिबान शासनद्वारा प्रक्षेपित भनिएका दुईवटा ड्रोन निष्क्रिय पारेको बताएका छन् । यसले अफगानिस्तानबाट उत्पन्न हुनसक्ने हवाई खतराविरुद्ध पाकिस्तानी सुरक्षा बल उच्च सतर्कतामा रहेको देखाएको उनीहरूको भनाइ छ ।
पछिल्ला हवाई आक्रमणले सीमापार लामो समयदेखि जारी शत्रुतापछि देखिएको केही साताको तुलनात्मक शान्तिसमेत अन्त्य गरेको छ । यसै महिनाको सुरुआतमा पाकिस्तानी सुरक्षा बलले अफगानिस्तानबाट प्रवेश गर्ने प्रयास गरिरहेका १५ जना आतङ्कवादीलाई मारेको जनाएको थियो ।
सोमबारको हवाई आक्रमण खैबर पख्तुनख्वा प्रान्तको हङ्गु जिल्लामा आतङ्कवादीसँग भएको गोली हानाहानपछि भएको थियो । उक्त घटनामा छजना पाकिस्तानी सुरक्षाकर्मी मारिएका थिए । त्यसको केही दिनअघि नजिकैको कोहाट सहरस्थित प्रहरी परिसरभित्र रहेको मस्जिदमा आत्मघाती बम विस्फोट भएको थियो । त्यसपछि आठजना बन्दुकधारीले परिसरमा आक्रमण गर्दा करिब २० घण्टासम्म गोली हानाहान भएको र कम्तीमा २१ जनाको मृत्यु भएको थियो । मृतकमध्ये अधिकांश प्रहरी अधिकारी थिए । उक्त आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन ।
पाकिस्तानी अधिकारीहरूले पछिल्ला हिंसात्मक घटनामा तेहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) तथा सम्बद्ध समूहलाई जिम्मेवार ठहराउँदै आएका छन् । अफगान तालिबान सन् २०२१ मा अफगानिस्तानको सत्तामा फर्किएपछि टीटीपीले पाकिस्तानी सुरक्षा बलमाथि आक्रमण बढाएको पाकिस्तानको दाबी छ । रासस







प्रतिक्रिया राख्नुहोस्