तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा उहाँले न्युयोर्कमा रहेको महावाणिज्य दूतावासको अवलोकन गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । त्यसक्रममा मन्त्री खनाल महावाणिज्यदूत दधिराम भण्डारीद्वारा आयोजित ‘ब्रिफिङ’ कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कार्यक्रममा महावाणिज्य दूतावासबाट सम्पादन भइरहेका कार्य, सेवा प्रवाह तथा नेपाली समुदायसँग सम्बन्धित विषयमा जानकारी प्रस्तुत गरिएको थियो । सो अवसरमा मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूले नेपालको राष्ट्रिय हित प्रवर्द्धन, नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा तथा नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तारमा निर्वाह गर्दै आएको भूमिकाका बारेमा जानकारी लिनुभएको थियो ।

कार्यक्रममा सहभागी अधिकारीहरूले महावाणिज्य दूतावासका गतिविधि, आगामी कार्ययोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराएका थिए । मन्त्री खनालले नेपाली नागरिकलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन तथा नेपालको हित प्रवर्द्धनमा निरन्तर सक्रिय रहन आवश्यक समन्वय र सहकार्यमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button