तपाईँ सुन्दै हुनुहुन्छः

स्याउ बोकेको ट्रक दुर्घटना, लाखौँको क्षति

जुम्ला । जुम्लाबाट सुर्खेततर्फ गएको स्याउ बोकेको मालवाहक ट्रक दुर्घटना हुँदा लाखौँको स्याउ तिला नदीमा बगेको छ । आइतबार दिउँसो ३ बजे तिर जुम्लाको तातोपानी गाउँपालिका वडा नं. १ राँकाबाट ४५० स्याउका कार्टुन बोकेर गएको बा.प्र.०१००६ ख ८७३० नम्बरको ट्रक कालिकोटको तिला गुफा नगरपालिका वडा नं. १ स्थित भिग्ममा दुर्घटना भएको हो । 

अनियन्त्रित भई ट्रक भिग्म स्थित तिला नदी छेउमा पल्टिँदा लाखौँको स्याउ नदीमा बगेका छन् । नदी किनारमा खसेका सबै काम नलाग्ने भएको तातोपानी गाउँपालिका वडा नं. १ का अध्यक्ष कर्ण बहादुर कठायतले बताउनुभयो । राँका गाउँभरिका किसानको स्याउ सङ्कलन गरी विक्रीका लागि लिइएको अवस्थामा तिला नदी छेउमा ट्रक दुर्घटना हुँदा लाखौँको क्षति भएको कठायतले जानकारी दिनुभयो ।  

‘ट्रकमा ४५० स्याउका कार्टुन लोड गरिएको थियो’ उहाँले भन्नुभयो,‘ट्रक भित्र छोरा बसेको रहेनछ । ठुलो दुर्घटना हुनबाट जोगियो । लाखौँको स्याउ खेर गए पनि ज्यान जोगियो, यसमै चित्त बुझाएका छै । कर्णाली राजमार्गको दुरावस्थाले दशा लाग्यो । एक लेनको साँघुरो सडकमा यात्रा गर्नै कठिन रहेको छ । यसमा राज्यले विशेष ध्यान दिनुपर्छ ।’

४५० कार्टुनमध्ये अधिकांश स्याउका कार्टुन तिला नदीमा बगिसकेका छन् भने मुस्किलले १० प्रतिशत स्याउ पनि काम नलागेको वडाध्यक्ष कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार झण्डै ८ लाख भन्दा बढीको क्षति भएको छ । धेरै किसानको पैसा दिन बाँकी नै छ । तर, बजारमा स्याउ पुग्नै नपाई बाटोमै खेर गएपछि आम्दानी भन्दा पनि लगानी उठाउन कठिन भएको उल्लेख गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button