संविधान दिवसको अवसरमा काठमाडौँ शिक्षालय ललितपुरको साइकल र्याली
ललितपुर । संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितहरूको सहयोग तथा वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ शिक्षालय ललितपुरले साइकल र्याली सम्पन्न गरेको छ ।
“Ride for Flood Victim, Rise for Humanity” (बाढीपीडितका लागि साइकल र्याली, मानवताका लागि एकता) भन्ने नारासहित आयोजना गरिएको साइकल र्यालीको उद्घाटन महालक्ष्मी नगरपालिका, ललितपुरका प्रमुख हरिगोविन्द श्रेष्ठले गर्नुभएको थियो । र्यालीमा काठमाडौँ शिक्षालय ललितपुरका शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारीसँगै विभिन्न क्षेत्रका साइकल प्रेमी तथा स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा ३०० भन्दा बढी साइक्लिस्टको सहभागिता रहेको थियो । उक्त र्याली व्यवस्थापन गर्न नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी र नेपाल स्काउटले सहयोग गरेका थिए । त्यस्तै विद्यार्थी र विभिन्न संस्थाका गरि १५० भन्दा बढी स्वंयसेवकहरू साइकल र्याली रुटमा खटिएका थिए ।
कार्यक्रम उद्घाटनमा बोल्दै महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठले बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति सहयोग र ऐक्यबद्धता जनाउने कार्यमा विद्यालय, विद्यार्थी र समुदायको सहभागिता उल्लेखनीय रहेको बताउनुभयो । उहाँले संविधानले नै देशलाई सही दिशा र गति दिने भएकोले विद्यार्थी, अभिभावक र सरोकारवालालाई यस्ता कार्यक्रममा सहभागी गराउँदै संविधानको महत्व बुझाउन जरुरी रहको बताउनुभयो ।
बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको भावना विकास गर्ने तथा साइक्लिङलाई केवल खेलकुद गतिविधिका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्व, सीपमूलक व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिन, मानवीय सहयोग र वातावरण संरक्षणसँग जोडेर यस कार्यक्रमलाई अभियानका रूपमा अघि बढाउन साइकल र्याली आयोजना गरिएको विद्यालयका अध्यक्ष एवं पर्वतारोही प्रकाश राज पाण्डेले बताउनुभयो । उहाँले र्याली दर्ता शुल्कबाट उठेको रकमको २५ प्रतिशत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताउनुभयो । विद्यालयले भोटेकोशी बाढी प्रभावितलाई यस अघि नै ललितपुर प्याब्सन मार्फत ५१ हजार रुपैयाँ सहयोग गरिसकेको छ ।

र्याली काठमाडौँ शिक्षालय ललितपुर इमाडोल, ललितपुरबाट सुरु भई कृष्ण मन्दिर, ग्वार्को, बालकुमारी, खरिबोट, टिकाथली, बालकोट, चाँगाथली, लुभु, लामाटार हुँदै शखं देवी मन्दिर पुगेको थियो । त्यसपछि बिष्णुडोल, स्कुल चोक र महालक्ष्मी नगरपालिका हुँदै पुनः काठमाडौँ शिक्षालय ललितपुरको परिसरमा फर्किएर र्याली समापन गरिएको थियो । दुई विधामा २० र २५ किलोमिटर दूरीको र्यालीले महालक्ष्मी क्षेत्रका विभिन्न स्थानलाई समेटेको थियो ।
आफ्ना हरेका आरोहण अभियानमा जलवायु परिवर्तनका विषयमा नियमित आवाज उठाउँदै आउनुभएका पर्वतारोही पाण्डेले बढ्दो विश्वव्यापी तापक्रमका कारण नेपालमा समेत बाढी, पहिरो, हिमाली क्षेत्रमा देखिएको परिवर्तन तथा अन्य वातावरणीय जोखिम बढ्दै गएको सन्दर्भमा विद्यालय तहबाटै वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरण सम्बन्धी चेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।
विद्यालयका अध्यक्ष एवं पर्वतारोही पाण्डेले साइकल र्यालीलाई विद्यालयको नियमित अतिरिक्त क्रियाकलाप भन्दा फरक मानवीय सेवा, सामाजिक जिम्मेवारी र वातावरणीय चेतनासँग जोडिएको अभियानका रूपमा अघि बढाइएको बताउनुभयो । पाण्डेले भन्नुभयो “साइकल चलाउनु स्वास्थ्य र खेलकुदका लागि मात्र होइन, समाजका लागि सकारात्मक सन्देश प्रवाह गर्ने माध्यम पनि बन्न सक्छ । विपद्को समयमा पीडित परिवारसँग ऐक्यबद्धता जनाउनु, सहयोगको भावना विकास गर्नु र वातावरण संरक्षणका लागि सचेतना फैलाउनु हाम्रो साझा दायित्व हो ।”
उहाँले, विश्वव्यापी रूपमा बढिरहेको Global Warming तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको बाढी, पहिरो, हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तन लगायतका समस्याप्रति विद्यार्थी, अभिभावक र समुदायलाई सचेत गराउनु पनि र्यालीको महत्वपूर्ण उद्देश्य रहेको बताउनुभयो ।
पाण्डेका अनुसार, काठमाडौँ शिक्षालय ललितपुरले यस वर्षदेखि प्रत्येक वर्ष संविधान दिवसका दिन साइकल र्याली आयोजना गर्ने योजना बनाएको छ । संविधान दिवसलाई केवल औपचारिक रूपमा मनाउने भन्दा पनि स्वास्थ्य, वातावरण, सामाजिक उत्तरदायित्व र मानवीय सेवासँग जोडेर विद्यार्थी तथा समुदायमा सकारात्मक संस्कार विकास गर्ने उद्देश्यले यसलाई वार्षिक अभियानका रूपमा निरन्तरता दिइनेछ ।
शिक्षालयकी प्रिन्सिपल प्रेमलता श्रेष्ठले स्वागत मन्तव्य राख्नुका साथै र्यालीको समुद्घाटन समारोहमा नगरपालिकाको उपमेयर लक्ष्मी महर्जन, वडा नं.१ का अध्यक्ष छिरिङ लामा, वडा नं. ४ का वडाध्यक्ष अमृत के.सी, नगरका शिक्षा शाखा निर्देशक चिरञ्जीवी पौडेललगायत वडा सदस्य तथा व्यावसायिक साइक्लिङ खेलाडीहरूको समेत उपस्थिति रहेको थियो ।
सहभागी शिक्षक, विद्यार्थी तथा अभिभावकहरूले बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक सेवामा आफ्नो सहभागिता प्रस्तुत गरेका बताएका थिए । विद्यालयले र्यालीमा सहभागीहरूलाई टी–सर्ट, पदक तथा सहभागिताको प्रमाणपत्र प्रदान गरेको थियो ।
काठमाडौँ शिक्षालय ललितपुरले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्