‘सङ्घीयताको कार्यान्वयनका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय आवश्यक’
पोखरा । गण्डकी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ विभिन्न कार्यक्रम सहित मनाएको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकारले पोखरामा आयोजना गरेको विशेष समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व आवश्यक रहेको बताउनुभयो ।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत गर्दै राज्यका सबै निकाय र तहमा महिला, दलित तथा पछाडि परेका समुदायको सहभागितालाई सुनिश्चित गर्नु महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो ।
प्रदेश प्रमुख भट्टले संविधानले प्रत्याभूत गरेको विधिको शासन, धर्मनिरपेक्षता, सामाजिक न्याय तथा भौगोलिक एकतालाई बलियो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई व्यवहारमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । बहुजातीय, बहुभाषिक, बहुधार्मिक र विविधतायुक्त नेपाली समाजलाई संविधानले एकताको सूत्रमा बाँधेको उहाँको भनाइ थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले परिकल्पना गरेको सङ्घीयता राजनीतिक रूपमा कार्यान्वयन भए पनि प्रशासनिक तथा वित्तीय सङ्घीयता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो । संघीय सरकारले आवश्यक कानुन निर्माण नगर्दा प्रदेश र स्थानीय तहले संविधानले दिएको अधिकार प्रयोग गर्न समेत कठिनाइ भइरहेको उहाँको भनाइ थियो । मुख्यमन्त्री पाण्डेले संघीय निजामती सेवा, प्रहरी तथा वन लगायतका आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदा सङ्घीयताको मर्म र भावना अनुसार काम हुन नसकेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्