महेन्द्रकुमार शाहलाई मूर्ति बनाउन भ्याइनभ्याइ
धनगढी । धनगढीका महेन्द्रकुमार शाहलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ छ । यस वर्ष असोज १ गते विश्वकर्मा पूजा पर्ने भएकाले उहाँलाई फुर्सदै नभएको हो ।

झण्डै तीन दशकदेखि उहाँले मूर्तिकार पेसालाई अँगाल्दै आउनुभएको छ । धनगढी उपमहानगरपालिका–२ का मूर्तिकार महेन्द्रकुमार शाह यतिबेला विश्वकर्मा बाबाको मूर्ति बनाउने तयारीमा हुनुहुन्छ । विभिन्न आकारमा मूर्तिको तयारी गर्न उहाँलाई हिजोआज भ्याइनभ्याइ छ ।
पूजाको लागि मूर्ति निर्माण गर्नेदेखि निर्माण गरिएका मूर्तिमा सिङ्गारपटार गर्ने, पेन्ट लगाउने, सजाउने, आकर्षक बनाउनेलगायतका कार्यमा व्यस्त हुने गरेको शाहले बताउनुभयो । “विशेषगरी पूजाको दिन बजारमा कलकारखाना, उद्योग, औजार र उपकरणलगायतका काम हुने स्थानमा विश्वकर्माको मूर्ति राखेर पूजा गर्ने चलन छ”, उहाँले भन्नुभयो ।
“सोही पूजालाई मध्यनजर गरेर मैले साउनको दोस्रो सातादेखि विश्वकर्मा बाबाको मूर्ति बनाउन सुरु गरेको हुँ, धेरै समय लगाएर काम सुरु गर्यो भने सोचेअनुसारको काम गर्न सकिन्छ र अझै धेरै मूर्ति निर्माण गर्न सकिन्छ ।”
मूर्तिकार शाहले विश्वकर्माको लागि १५ वटा मूर्ति निर्माण गरिसक्नुभएको छ । प्रतिमूर्ति रु सात हजारदेखि रु १२ हजार सम्ममा बिक्री गर्ने शाहले बताउनुभयो ।
एउटा मूर्ति बनाउँन झण्डै एक हप्ता लाग्ने गरेको छ । शाहले अक्सर विश्वकर्माको पूजा, छठ पर्व, बडादशैँलगायतका चाडपर्वका लागि विभिन्न देवीदेवताका मूर्ति बनाएर बिक्री गर्ने गर्नुभएको छ ।
मूर्ति निर्माणको लागि माटो, पराल, सुतली धागो, काठ, किला, कपास, बोरालगायतका सामग्री चाहिन्छ । शाहले लामो समयदेखि बालबच्चाको शिक्षादीक्षासँगै आठ जना परिवारको खर्च सोही पेसाबाट धान्दै आउनुभएको छ ।
विश्वकर्माको पूजाआराधना गर्दै उत्सव मनाउने गरिएको यो पर्वको लागि धनगढी बजार आसपासका क्षेत्रमा आज चहलपहल बढेको दिव्या ग्रील उद्योगका सञ्चालक अनुज शर्माले बताउनुभयो । विश्वकर्माको भोलिको पूजाका लागि विशेष तयारी भइरहेको उहाँले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्