मनकामना डाँडा: जहाँबाट हेटौँडाको दृश्यावलोकन गर्न सकिने
बागमती । हेटौँडाको उत्तरपूर्वमा पर्ने मनकामना डाँडा, जहाँबाट हेटौँडा बजार नाङ्गो आँखाले दृश्यावलोकन गर्न सकिन्छ ।
भौगोलिक रुपमा रमणीय यो डाँडाको महिमालाई यहाँस्थित धार्मिक महत्वको मनकामना मन्दिरले अझै बढाएको छ ।
हेटौँडाको व्यस्त बजारबाट नजिकै रहेर पनि यसको अपेक्षित पर्यटकीय विकास भने हुन सकेको छैन ।
हिमालय राइडर्स सोसाइटी, हेटौँडाका अध्यक्ष राजु थापा मगरले स्वास्थ्य, पर्यटन र पर्यावरणलाई गन्तव्य प्रवद्र्धन गरिरहेको बताउनुभयो ।
संस्थाले सम्पदास्थलको पर्यटकीय उपयोगसँगै पर्यावरण जोगाउनका लागि विभिन्न सचेतनामुलक अभियान चलाइरहेको छ ।
धार्मिक पर्यटनसँगै दृश्यावलोकनका लागि मनकामना क्षेत्र छोटो दुरीको हाइकिङ एवम् साइक्लिङका लागि अनुपम स्थलका रुपमा चिनिएको छ ।
मनकामना क्षेत्र पुग्न हेटौँडाको पिप्ले कुनाबाट करिब चार किलोमिटर हिँड्नु पर्छ ।
त्यस्तै यहाँको सिँचाई टोलस्थित मुक्तिनाथ मन्दिरबाट करिब साढे तीन किलोमिटर दुरीमा अर्को मार्ग रहेको छ । यी दुवै मार्ग हाइकिङ र साइक्लिङका लागि उपयुक्त मार्ग हुन् ।
“हेटौँडाको छोटो दुरीमा रहेको मनकामना क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास हुनुपर्छ भन्ने सोचका साथ संस्थागत र प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो,
“करिब दुई वर्ष अघि संस्थाले मनकामना मन्दिरबाट ‘आफ्नो ठाउँ आँफैंले सफा गरौँ’ भन्ने अभियानका साथ सचेतनामुलक बोर्डहरू राख्ने अभियान थालेका थियौँ ।”
हेटौँडाको व्यस्त बजारबाट छोटो दुरीमा रहेको यो ठाउँलाई यहाँको महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने बताउँदै उहाँले यसका लागि राज्य, स्थानीय समुदाय सबैको एकताबद्ध प्रयास अपरिहार्य हुने बताउनुभयो ।
मकवानपुरगढी गाउँपालिका वडा नं ४ मा पर्छ, मनकामना मन्दिर । मन्दिर आसपासको क्षेत्र आफैँमा सुन्दर हरियालीयुक्त छ । यहाँका डाँडाबाट हेटौँडा बजार र आसपासका पहाडी भू–दृश्यले स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउने गरेको छ ।
स्थानीयवासी एवम् भूपू सैनिक ‘हाइजेनिक’ हाइटका सञ्चालक पदमनाथ सापकोटाका अनुसार विशेष गरी बिदाको समयमा हेटौँडाका विभिन्न स्थानबाट यस क्षेत्रमा आन्तरिक पर्यटक ठुलै सङ्ख्यामा आउने गरेका छन् ।
पर्यटकलाई लक्षित गरी होटेल, रेष्टुरेन्ट लगायतका पूर्वाधार थपिने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।
हेटौँडा बजारको दृश्यवालेकनसँगै मनोकामना पूरा हुने विश्वासका साथ ठुलै सङ्ख्यामा दर्शनार्थी यस क्षेत्रमा आउने गरेका छन् ।
विभिन्न महत्वपूर्ण तिथि मिति एवम् हरेक हप्ता शनिबार र मङ्गलबार मन्दिरमा आउनेको सङ्ख्या बढ्दो रहेको स्थानीयवासी बताउँछन् ।
२०१६ सालमा स्थापना गरिएको उक्त मन्दिरलाई गोरखाकी मनकामनाको बहिनीका रूपमा लिइने गरिएको छ ।
स्थानीयवासीका अनुसार सुरुमा काठको मन्दिर रहेकामा २०३७÷३८ सालतिर यहाँका गाउँलेले नजिकैको मर्कानचुलीबाट इँटा ल्याई अहिलेको मन्दिर निर्माण गरेका हुन् ।
यसअघि २०७६ सालमा मकवानपुर जिल्लाका ३० वटा पर्यटकीय गन्तव्य पहिचान गरिएको थियो ।
जिल्लाका १० वटा पालिकाका तीन÷तीन वटा पर्यटकीयस्थल पहिचान गरी पर्यटकीय गन्तव्य निर्धारण गरिएकामा मकवानपुरगढी गाउँपालिकाका ऐतिहासिक महत्व बोकेका मकवानपुरगढी दरबार क्षेत्र, मनकामना मन्दिर र सहिद रुद्रबाटिका पार्कलाई पर्यटकीय गन्तव्यमा समेटिएको थियो ।
मनकामना क्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न यहाँको स्थानीय तहसँगै प्रदेश सरकारले पनि चासो देखाएको मकवानपुरगढी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष अर्जुन तिमल्सिनाले जानकारी दिनुभयो ।
आवश्यक पर्यटकीय पूर्वाधार विकाससँगै राम्रो प्रवद्र्धन गर्न सकिएमा हेटौँडा आएका पर्यटकको बसाइ लम्ब्याउन सकिने यहाँका स्थानीयवासी बताउँछन् ।
नेपाल भारतको सीमा वीरगन्जको रक्सौल नाका नजिकै रहेका कारण भारतीय पर्यटकलाई आकर्षण गर्नसके मात्रै पनि समग्र हेटौँडाको पर्यटकीय विकासमा ठूलो योगदान पुग्ने हिमालयन राइडर्स सोसाइटीका अध्यक्ष थापाको भनाइ छ ।
“हेटौँडाबाट जम्मा ६५ किलोमिटर दुरीमा रक्सौल नाका रहेर पनि यहाँ भारतीय पर्यटकको आकर्षण बढाउन सकिएको छैन”, उहाँले भन्नुभयो,
“मनकामना डाँडा सहित हेटौँडाका पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि विशेष गरी स्थानीय सरकारले कार्यक्रमहरू अघि बढाउन जरुरी देखिन्छ । ”
हेटौँडालाई एक साथ नियाल्न सकिने मनकामना क्षेत्र सहित, ऐतिहासिक महत्वको मकवानपुर गढी, भीमफेदीको ऐतिहासिक हात्तिसार लगायतका थुप्रै गन्तव्यलाई प्रवद्र्धन गरी अधिकतम पर्यटकीय उपयोग हुनु अपरिहार्य भएको उहाँले बताउनुभयो । रासस







प्रतिक्रिया राख्नुहोस्