स्ट्रेलिङ्ग आयलद्वारा नेपालका बाढीपीडितका लागि ५० हजार अमेरिकी डलर सहयोग घोषणा
बाँके । नाइजेरियामा रहेको स्ट्रेलिङ्ग आयल एक्सप्लोरेसन एन्ड इनर्जी प्रोडक्सन कम्पनी लिमिटेडले नेपालका बाढीपीडितका लागि ५० हजार अमेरिकी डलर अर्थात् करिब रु ७६ लाख सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीको कल्याणकारी संस्था ‘भी–केयर फर डेभलपमेन्ट फाउन्डेसन’मार्फत घोषणा गरिएको उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी पठाइने भएको हो ।
नेपालमा पछिल्लो समय आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त सहयोग घोषणा गरेको जनाएको छ । कम्पनीले आफ्ना कर्मचारीलाई समेत व्यक्तिगत रूपमा थप सहयोग गर्न आन्तरिक आह्वान गरेको छ ।
कर्मचारीबाट प्राप्त हुने स्वैच्छिक सहयोगसमेत ५० हजार अमेरिकी डलरमा थप गरी सम्पूर्ण सहयोग रकम यही शुक्रबारभित्र नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरिएको जनाइएको छ । नेपालका बाढीपीडितका लागि अफ्रिकामा कार्यरत कम्पनीले ठूलो परिमाणमा सहयोग घोषणा गरेपछि अफ्रिकामा रहेका नेपाली समुदायले त्यसको स्वागत गरेका छन् ।
गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले नेपालको दुःख र विपद्का बेला सहयोग घोषणा गरेकोमा स्ट्रेलिङ्ग आयल कम्पनी, प्रमुख कार्यकारी अधिकृत मोहित बरोर, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीप्रति अफ्रिकामा रहेका नेपालीका तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
उहाँले सहयोगका लागि कम्पनीमा कार्यरत नेपाली अधिकारी दिलीप आचार्यको पहलको विशेष प्रशंसा गर्नुभयो । आचार्यको प्रस्ताव र निरन्तर पहलका कारण कम्पनीबाट नेपालका बाढीपीडितका लागि सहयोग सम्भव भएको उहाँको भनाइ छ ।
स्ट्रेलिङ्ग आयल एक्सप्लोरेसन एन्ड इनर्जी प्रोडक्सन कम्पनी लिमिटेड नाइजेरियाको लागोसमा मुख्यालय रहेको निजी क्षेत्रको तेल तथा ग्यास अन्वेषण तथा उत्पादन कम्पनी हो । सन् २००५ मा स्थापना भएको कम्पनीले नाइजेरियाको तेल तथा ग्यास क्षेत्रमा अन्वेषण, विकास तथा कच्चा तेल उत्पादन गर्दै आएको छ ।
कम्पनीले नाइजेरिया लगायत अफ्रिकाका विभिन्न मुलुकमा खनिज तेल, खनिज तथा धातु क्षेत्रमा काम गर्दै आएको जनाइएको छ । ऊर्जा क्षेत्रमा प्रविधि र दिगोपनसँगै स्थानीय समुदायको विकास तथा कल्याणलाई समेत प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ ।
नेपाल प्राकृतिक विपद्को कठिन अवस्थामा रहेका बेला विदेशस्थित नेपाली तथा विदेशी कम्पनीबाट प्राप्त हुने यस्तो सहयोगले राहत तथा पुनःस्थापनाको अभियानमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्ट्रेलिङ्ग आयलले गरेको सहयोग घोषणा विपद्का बेला मानवीय एकताको उदाहरण बनेको छ ।
मातृभूमिबाट हजारौँ किलोमिटर टाढा रहेर पनि नेपालको विपद्मा सहयोगको हात बढाउनु आफैँमा प्रशंसनीय कार्य भएको भन्दै अफ्रिकामा रहेका नेपालीले कम्पनीको मानवीय पहलप्रति धन्यवाद व्यक्त गरेका छन् ।
नेपालका बाढीपीडितका लागि घोषित सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि उक्त रकम परिचालन गर्नेछ ।







प्रतिक्रिया राख्नुहोस्