तपाईँ सुन्दै हुनुहुन्छः

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईँहरूको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ ।  प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिनुहुने सुरक्षाकर्मीको उच्च कदर हुने बताउनुभएको छ । 

सामाजिक सञ्जालमार्फत आज उहाँले विपद् व्यवस्थापनमा खटिनुहुने सुरक्षाकर्मीलाई सन्देश दिँदै सुरक्षाकर्मीलाई तपाईँहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता नगर्ने बताउनुभएको हो ।

“तपाईँहरूकै त्याग, निष्ठा र अदम्य साहसका कारण नै आज सङ्कटका बेला लाखौँ मानिसले सुरक्षित महसुस गर्न पाउनुभएको छ । कार्यक्षेत्रमा खटिनुहुने तपाईँहरू प्रत्येक सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ”, प्रधानमन्त्री शाहले भन्नुभयो, “तपाईँहरूको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन । सङ्कटका बेला खटिरहन प्रेरित गर्ने तपाईँको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौँ । सङ्कट व्यवस्थापनका लागि हाम्रा सुरक्षाकर्मीसँगै खटिरहनुभएका देश तथा विदेशका अन्य विज्ञहरूलाई पनि हामी विशेष धन्यवाद दिन्छौँ ।”

प्रधानमन्त्री शाहले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका सुरक्षाकर्मीको संयुक्त प्रयासमा प्रभावित क्षेत्रबाट अहिलेसम्म १३ हजार ३९१ मानिसलाई उद्धार गरिएकोसमेत उल्लेख गर्नुभएको छ । सुरक्षाकर्मीले घाइतेको स्थलमार्ग, हेलिकप्टरमार्फत र कहीँकतै आफ्नै काँधमा बोकेर समेत जतिसक्दो चाँडो अस्पताल पु¥याएको उहाँले बताउनुभएको छ ।

साथै शवलाई संवेदनशीलताका साथ व्यवस्थापन गर्न, प्रभावित क्षेत्रमा महामारी वा सङ्क्रामक रोग फैलिन नदिन र शिविरमा प्रभावितलाई हौसला बढाउन हाम्रा तीनै निकायका सुरक्षाकर्मी अहोरात्र खटिरहनुभएको प्रधानमन्त्री शाहको भनाइ छ ।

“कठिन भूगोल छ, प्रतिकूल मौसम छ, तर, हाम्रा सुरक्षाकर्मी बाढीले थुपारेको दलदल र भग्नावशेषमा खोस्रिरहनुभएको छ”, उहाँले भन्नुभएको छ, “तपाईँहरूले प्रभावितको पीडा गहिरोसँग बुझ्नुभएको छ । बाढीका कारण सम्पर्कविहीन भएको भन्दै आफ्ना मान्छे खोजिदिन तपाईंहरुसँग आग्रह गर्ने मानिसको सङ्ख्या ठूलो छ । त्यसैले तपाईँहरूले आफ्नो थकान र तनाव भुल्नुभएको छ, अहोरात्र खटिरहनुभएको छ, खोजिरहनुभएको छ, उद्धार गरिरहनुभएको छ ।”

हामीलाई थाहा छ– तपाईँहरू पनि साथीहरू गुमाएको पीडामा हुनुहुन्छ । बाढीका कारण ४५ नेपाली सेना, २५ नेपाल प्रहरी र १२ सशस्त्र प्रहरी अझै सम्पर्कविहीन हुनुहुन्छ । यस्तो पीडामा आँसु लुकाएर दलदलमा पसिरहनुभएको छ । सकिनसकी शव उठाइरहनुभएको छ । होल्डिङ सेन्टरमा दिनरात पहरेदारी दिइरहनुभएको छ । अझै पनि बाढी आउनसक्ने सूचना आएकाले सर्तक रहन माइकिङ गर्दै हिँडिरहनुभएको छ । तपाईँहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल काँधमा काँध मिलाएर सङ्कट व्यवस्थापनमा लागिरहनुभएको  प्रधानमन्त्री शाहको भनाइ छ ।

“आ–आफ्ना मुख्यालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कमाण्ड पोष्टबाट कमान्डरहरूले प्रभावित क्षेत्रमा खटिरहेका सुरक्षाकर्मीलाई निर्देशन दिइरहनुभएको छ । समन्वय गरिरहनुभएको छ । कमान्डरलाई चिन्ता पनि छ होला कतै आफ्ना सुरक्षाकर्मी खोजी र उद्धारमा खटिँदै गर्दा आफैँ अप्ठ्यारोमा पर्छन् की रु त्यसैले प्रभावित क्षेत्रमा खटिरहनुभएका आफ्ना साथीहरूको मनोबल उच्च राख्ने प्रयास गरिरहनुभएको छ”, प्रधानमन्त्री शाहले भन्नुभएको छ ।

प्रधानमन्त्री शाहका अनुसार नेपाली सेनाले बाढी आए लगत्तै सैनिक मुख्यालयको योजनाअनुसार नुवाकोटको त्रिशूली बट्टारस्थित मैथिल ब्यारेकमा उपरथीको नेतृत्वमा ‘फरवार्ड हेडक्वार्टर’, ‘इमर्जेन्सी मेडिकल रेस्क्यु टिम’ र मुख्य ‘फरवार्ड एयर बेस’ खडा गरी उद्धार कार्य भइरहेको छ । रसुवाको धुन्चे ब्यारेकमा सहायक रथीको नेतृत्वमा ‘ट्याक्टिकल हेडक्वार्टर’, चिकित्सकसहितको र ‘फरवार्ड मेडिकल टिम’ र अतिरिक्त ‘एयर बेस’ सञ्चालन गरिरहेको छ ।

प्रभावित क्षेत्रको कठिन भूगोलमा अन्य सुरक्षा निकायको सहयोग लिएर उद्धारको अगुवाइ गरिरहेको छ । विद्युत् आयोजनाका सुरुङ क्षेत्रमा पनि खोज तथा उद्धारको नेतृत्व गरिरहेको छ । यो उद्धार टोलीमा सशस्त्र प्रहरी बल, नेपालको विशेष खोज तथा उद्धार टोली र नेपाल प्रहरीको ‘डग टिम’ परिचालन भइरहेको छ । साथै, सेनाले तत्काल आवागमन सहज बनाउन बेलीब्रिज निर्माण र बाटो खोल्ने काम तीव्र पारेको छ । नुवाकोटको देवीघाटमा सेना आफैँले आफ्ना इन्जिनियरहरु परिचालन गरी एक्रो ब्रिज जडान गरिरहेको छ । बाढी प्रभावित क्षेत्रमा अहिले नौ हजार २८७ सेना खटिरहनुभएको छ ।

नेपाल प्रहरीले पनि बाढी प्रभावित क्षेत्रमा सुरुआतबाटै अग्रपङ्क्तिमा खटिएर खोज, उद्धार तथा राहत वितरणमा नेपाल प्रहरी सक्रिय रहेको प्रधानमन्त्री शाहको भनाइ छ । तालिमप्राप्त कुकुरहरूले खोजी तथा उद्धारलाई सहयोग गरेका छन् । घाइतेलाई जतिसक्दो चाँडो अस्पताल पु¥याउने काम भइरहेको छ । शव व्यवस्थापनमा प्रहरीले नेतृत्व गरिरहेको छ । जोखिमपूर्ण क्षेत्रमा निरन्तर सूचना प्रवाह गर्दै नागरिकको जिउधनको सुरक्षा गरिरहेको छ । त्यति मात्रै होइन, प्रभावित क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न पनि प्रहरीले उत्तिकै मेहनत गरिरहेको छ । हाल बाढी प्रभावित क्षेत्रमा सात हजार ९७५ प्रहरी खटिरहनुभएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री शाहका अनुसार, सशस्त्र प्रहरी बल, नेपालले पनि कठिन भूगोल र उर्लँदो भोटेकोशी–त्रिशूली नदीको जोखिम मोल्दै विपद् व्यवस्थापनमा विशेष तालिमप्राप्त गोताखोर, डोरी टोलीलगायत उद्धार टोलीमार्फत प्रत्यक्ष खोज तथा उद्धारमा सक्रिय रूपमा खटिरहेको छ । त्यसका लागि प्रभावित क्षेत्रमा विपद् प्रतिकार्य पोष्ट, फिल्ड कमाण्ड पोष्ट, १३ वटा विपद् प्रतिकार्य बेस स्थापना गरिएको थियो । ड्रोन स्क्वाड परिचालन गरिरहेको छ । केनाइन टोली पनि सँगसँगै खटाएको छ । प्रभावित क्षेत्रमा उपचार सेवा दिइरहेको छ । प्रभावित क्षेत्रको नेपाल–चीन सीमानामा नेपाली झण्डा स्थापना गर्न सफल भएको छ । हाल प्रभावित क्षेत्रमा चार हजार २०३ सशस्त्र प्रहरी खटिरहनुभएको प्रधानमन्त्री शाहको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button