रसुवा बाढी : जुम्लाका २८ जना सम्पर्कमा, ७१ अझै बेपत्ता
जुम्ला । गत बुधबार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट बाच्न सफल भएका जुम्लाका २८ जना मजदुर सम्पर्कमा आएका छन् । विनासकारी बाढीपछि जुम्लाका २८ जना कामदार सकुशल सम्पर्कमा आएका हुन् ।

अझै ७१ जना जुम्लाका कामदारहरू बेपत्ता रहेका छन् । जुम्लाबाट जलविद्युतको कामको सिलसिलामा करिब ९९ जना रसुवा गएको भेटिएको छ । सुरुमा ८०–९० जना नै बेपत्ता रहेको, सुरुङमा फसेको भनिएको थियो । बाढी आएको सात दिनसम्म २८ जना सम्पर्कमा आए पनि ७१ जना बेपत्ता रहेका छन् । जुम्लाका युवा अमर विष्ट रसुवामै खटेर उद्धार गरेका थिए । सांसद ज्ञानेन्द्र शाहीले पनि सरकारसँग जुम्लाका नागरिकको खोजी गर्न निरन्तर ध्यानाकर्षण गराइरहनुभएको छ ।
यता जिल्ला प्रशासन कार्यालय जुम्लाले २८ जना सकुशल सम्पर्कमा आएको पृष्टी गरेको छ । प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईँले २८ जना सकुशल उद्धार भई आफन्तको सम्पर्कमै रहेको बताउनुभयो । सम्पर्कमा आएकालाई गृहजिल्ला ल्याउन पहल भइरहेको छ ।
यसैबीच, जुम्लाबाट रसुवा बाढी पीडितका लागि सहयोग रकम पठाइएको छ । उद्योग वाणिज्य सङ्घले एक लाख एक हजार, उद्योग वाणिज्य संघ जुम्लाका उपाध्यक्ष बालकृष्ण बुढाले ५५ हजार ५५५ रुपैयाँ, व्यवसायी देवेन्द्रराज उपाध्यायले ५५ हजार ५ सय सहयोग प्रदान गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्