तपाईँ सुन्दै हुनुहुन्छः

पहिचान हुन नसकेका ७८ शव पोखरामा सुरक्षित व्यवस्थापन

गण्डकी । रसुवाको भोटेकोशी नदीमा गत बुधबार गएको बाढीमा मृत्युवरण गरी पहिचान हुन नसकेका ७८ शवको आज पोखरा महानगरपालिका-१६ लामा चौरको वनक्षेत्रमा जमिनुमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ । 

पहिचान तथा परीक्षणका लागि विभिन्न जिल्लाबाट ल्याइएका एक सय दुई शवमध्ये ७८ वटालाई कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार १९ शव पहिचान गरी आफन्तलाई बुझाइएका छ ।

“पाँच शव आफन्तले दाबी गरेकाले पहिचानका लागि केही दिन अस्पतालकै शव गृहमा राखिनेछ”, उहाँले भन्नुभयो, “७८ शवलाई अन्तर्राष्ट्रिय रेडक्रस समितिको मापदण्ड र पहिचान हुन नसकेका तथा बेवारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका अनुसार व्यवस्थापन गरिएको छ ।” अस्पतालमा बाँकी रहेका पाँच शवमध्ये दुई विदेशी नागरिकको भएका आशङ्का गरिएको उहाँले बताउनुभयो । 

सबै शवको परीक्षण तथा डिएनए नमूना सङ्कलन गरिसकेपछि व्यवस्थापनको काम सुरु गरिएको प्रहरी उपरीक्षक कार्कीले उल्लेख गर्नुभयो । शवबाट सङ्कलन गरिएको डिएनएको नमूना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइने उहाँले बताउनुभयो । परिवारले खोजी गरी डिएनएसँग मिलान भएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्ने गरी व्यवस्थापन गरिएको उहाँको भनाइ छ । 

नवलपुर, धादिङ, तनहुँ र गोरखाबाट ल्याइएका शव पहिचानका लागि तस्बिर स्क्रिनमा राखेर आफन्तलाई हेर्ने व्यवस्था मिलाइएको थियो । एक हप्तामा १९ वटा शव मात्र पहिचान भई आफन्तलाई बुझाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो । अन्य शव सड्न थालेसँगै स्वास्थ्य महामारीको जोखिम बढ्न सक्ने विज्ञहरूको सुझाव अनुसार सबै कानुनी र वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गरिएको हो । 

बाढीले बगाएर विभिन्न जिल्लामा पुर्‍याएकाले शव पहिचान जटिल बनेको छ । कतिपय शव चिन्न नसक्ने र पहिचान गर्न असम्भव हुने अवस्थामा भेटिएकाले थप समस्या भइरहेको उहाँले बताउनुभयो । त्रिशूली र नारायणी नदी किनारमा भेटिएका १०२ शवलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा शव राखिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button