आदर्श माविका विद्यार्थीद्वारा खाजा खर्चबाट बाढी पीडितका लागि सहयोग
विराटनगर । रसुवाको भोटेकोसी बाढीपीडित परिवारका लागि मोरङको रंगेली–७ स्थित आदर्श माविका विद्यार्थीले सहयोग रकम जुटाएका छन् ।

पीडितहरूको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो विद्यालयका विद्यार्थीहरूले कक्षागत रूपमा रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् ।
कक्षा ३ देखि ८ कक्षा सम्मका बालबालिकाहरूले खाजा खर्चबाट केही रकम बचत गरेर प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम पठाएको विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाहाङले जानकारी दिनुभयो ।
आफ्नो गच्छेअनुसार विद्यालयका छात्रछात्राबाट सङ्कलन भएको ६ हजार २ सय ५४ रकम क्युआर मार्फत प्रधानमन्त्री राहत कोषमा पठाएको उहाँले बताउनुभयो ।
विपद्को समयमा साना बालबालिकाले समेत सहयोगको भावना देखाउँदै राहत कोषमा योगदान गर्नु मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगी संस्कारको सकारात्मक उदाहरण भएको प्रधानाध्यापक मेवाहाङको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्