तपाईँ सुन्दै हुनुहुन्छः

‘भोटेकोशी बाढीको मुख्य कारण आइस एभलाञ्च’

काठमाडौँ । भोटेकोसी नदीमा हालै आएको विनाशकारी बाढी सामान्य मौसम तथा बर्षाका कारण मात्र नभई जलवायु परिवर्तनले बढाउँदै लगेको चरम प्राकृतिक घटनाको ज्वलन्त उदाहरणको संज्ञा दिइएको छ । 


प्राप्त तथ्य जानकारी तथा भू–उपग्रह तस्बिरहरूको अध्ययनपछि विज्ञहरूले यस बाढीको मुख्य कारण आइस एभलाञ्च (हिउँ बरफको पहिरो) रहेको निष्कर्ष निकालेका छन् ।

भोटेकोशी बाढीले बगाएका घरहरू, उजाडिएका बस्तीहरू र आफन्त गुमाएका परिवारका पीडाले यो विपद कति भयावह थियो भन्ने कुरा बयान गरिरहेको छ । 

राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ तथा अनुसन्धानकर्ताहरूले बाढीको असाधारण शक्तिलाई लिएर यस बाढीलाई ‘ हिमाली सुनामी’ को नाम दिइनुपर्ने बताएका छन्। अर्कोतर्फ, जलवायु परिवर्तन, यसले बढाइरहेको जोखिम, राज्यको जिम्मेवारी, दायित्व र पूर्व तयारीका विषयमा पनि प्रश्नहरू उठिरहेका छन् ।

यसै सन्दर्भमा लेखक तथा पत्रकार रमेश भुषालले सामाजिक सञ्जालमा रसुवा बाढि बारे लेख्दै यसलाई ‘अकल्पनीय’ भन्न नमिल्ने तर्क गर्नुभएको छ । “मेलम्ची, रोशी वा दशकअघिको सेती बाढी देखेका हामीले यसलाई अकल्पनीय भन्न मिल्दैन; हामीले त पूर्व कल्पना गर्न सक्नुपर्थ्यो, जहाँ हामी चुक्यौँ,“ भुषालको टिप्पणी छ ।

देशले अकल्पनीय क्षति, नोक्सानी व्यहोर्नुपरेको यत्रो शक्तिशाली बाढि कसरी आयो? भन्ने जिज्ञासामा त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका सहप्राध्यापक, जलवायु तथा हिमताल विज्ञ डा. सुदिप ठकुरी भन्नुहुन्छ । “लाङटाङ लिरुङको उत्तरी क्षेत्रमा ५ हजार देखि ५ हजार २ सय मिटरको उचाइमा रहेको हिउँका चट्टान करिब दुई हजार मिटर तल झरेर उक्त हिउँ पहिरो तिब्बत तर्फबाट बहने खोलामा मिसिँदै नदीको बहावमार्फत नेपालतर्फ भित्रिएपछि भोटेकोसीमा बाढी आयो ।” 

यस्तै “हिमाली क्षेत्रमा यस्ता घटना जुनसुकै बेला हुन सक्ने सम्भावना भए पनि ठ्याक्कै यही समयमा यति ठूलो क्षति हुन्छ भनेर तोक्न सकिने अवस्था थिएन” डा. ठकुरीले भन्नुभयो “बोर्डर क्षेत्रको सुरक्षा र प्रविधिको जटिलताका कारण पनि चीनतर्फ तत्कालै जानकारी नभएको वा सूचना आदानप्रदानमा ढिलाइ भएको हुन सक्छ ।”

डा. ठकुरीले विगतमा पनि सोही क्षेत्रमा हिमताल फुटेर बाढी आएको, भौगोलिक अवस्थितिका कारण भोटेकोसी क्षेत्र सधैँ जोखिमयुक्त रहेको अवस्थामा जलवायु परिवर्तनका कारण ‘एक्स्ट्रीम इभेन्ट’ अर्थात् चरम प्राकृतिक घटनाका रुपमा यस बाढीलाई लिन सकिने बताउनुभयो ।

भविष्यमा यस्ता विनाशकारी बाढी पहिरोको जोखिमबाट बच्न उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा रियल–टाइम क्यामेरा, जलसतह नाप्ने सेन्सर र आधुनिक ‘अर्ली वार्निङ सिस्टम’ विस्तार गरी हरदम तयारी अवस्थामा रहने तथा वैज्ञानिक तथ्यमा आधारित योजना बनाएर मात्र बस्ती बसाल्ने तथा पूर्वाधार निर्माण गरिनुपर्ने सुझाव दिनुहुन्छ डा ठकुरी ।

नयाँ बस्ती तथा पूर्वाधार निर्माण गर्दा वैज्ञानिक तथ्य र जोखिम मूल्याङ्कनका आधारमा मात्र योजना बनाउनुपर्ने देखिन्छ,उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा रियल–टाइम क्यामेरा, जलसतह नाप्ने सेन्सर र आधुनिक ‘अर्ली वार्निङ सिस्टम’ विस्तार गरी हरदम तयारी अवस्थामा रहन सकिन्छ ।

यस्तै वैज्ञानिक तथ्यमा आधारित योजना बनाए विपत् पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक तथ्य र प्रविधिको सही उपयोगबाट क्षति न्यूनीकरण गर्न सकिने भएकाले योजनाबद्ध विकासमा जोड दिनुपर्न सुझाव दिनुभयो ।

हाललाई देशले भोग्नुपरेको प्राकृतिक पीडाप्रति रौतहटको एक विद्यालय कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले खाजा खर्च सङ्कलन गरेर जुटाएको ४ सय ७० रुपैयाँदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रबाट अनगिन्ती समवेदना, सद्भाव र सहयोगहरू त जुटिरहेका छन् । तर, भविष्यमा हिमपहिरो तथा हिमतालहरू फुट्ने र शक्तिशाली सुनामीको रुपमा बाढि आउने जोखिम रहिरहेकाले जतिसक्दो चाँडो गर्नुपर्ने वैज्ञानिक, प्राविधिक र सामुदायिक तयारीमा ढिलो गर्न नुहुने विज्ञहरूले चेतावनी दिएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button