तपाईँ सुन्दै हुनुहुन्छः

रसुवा बाढी : रोल्पाका ५ जनाको उद्धार, २४ जना अझै सम्पर्कविहीन

काठमाडौँ । रसुवाको बाढी फसेका रोल्पाका ५ जनाको उद्धार गरिएको छ भने  २४ जना अझै सम्पर्कविहीन भएका छन् । 

घरपरिवार, आफन्त, स्थानीय तहले दिएको जानकारी अनुसार रोल्पाबाट रसुवाको जलविद्युत आयोजना, सडक निर्माण, मालीलगायतका काममा ज्यालामजदुरी तथा व्यवसायका लागि पुगेका नागरिक मध्ये ५ जनाको उद्धार गरिएको छ भने २४ जना अझै सम्पर्कविहीन रहेका छन् ।

भदौ १० गते भोटेकोसी क्षेत्रमा आएको बाढीपछि सम्पर्कविहीन भएका रोल्पालीमध्ये गजुलका मुक्तबहादुर महरा, लिबाङ क्षेत्रका रमेश वली, रुन्टीगढी गाउँपालिका–८ का ध्रुवबहादुर बुढामगर, थबाङ गाउँपालिका–२ मरन्ठानाका नवराज रोका र रोल्पाकै दिलिजा पुनको उद्धार गरिएको जनाइएको छ ।

तर अझै २४ जना रोल्पाली सम्पर्कमा आउन नसकेको र उनीहरूको अवस्था अज्ञात रहेको  छ ।  सम्पर्कविहीन हुनेमा रुन्टीगढी गाउँपालिका–८ का गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार र विकास परियार गरी ५ जना छन् ।

त्यस्तै, सुनिल स्मृति गाउँपालिका–३ का जक्तबहादुर पुन, वडा नम्बर ५ का हरिबहादुर घर्ती, आर्यन घर्ती, सोमबहादुर घर्ती र अनराम पुन तथा वडा नम्बर ६ का राजेन्द्र महत, बसन्त महरा, कुमार महरा, रविलाल भण्डारी र संजय महत गरी १० जना पनि सम्पर्कविहीन छन् ।

यसैगरी माडी गाउँपालिका–३ तालाबाङकी दिपा घर्ती, वडा नम्बर ५ भावाङकी तिलसरी बाठा, सुनछहरी गाउँपालिका–५ जैमाकसला जुबाङका नेपाली सेनामा कार्यरत २० वर्षीय सुनिल विक, रोल्पा नगरपालिका–१० धबाङका लेखराज रोका र गंगादेव गाउँपालिका–२ घरभिरकी कमला पुन गरी ५ जना पनि सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ ।

त्यस्तै, परिवर्तन गाउँपालिका–६ थानकोट, इरिबाङका ४० वर्षीय कुलप्रसाद बुढा, उनकी ३६ वर्षीया श्रीमती मिना बुढा, २१ वर्षीय छोरा डिप बुढा र ४ वर्षीया छोरी खुसी बुढा गरी एकै परिवारका चार जना पनि टिमुरेमा व्यवसाय गर्दै आएको अवस्थामा बाढीपछि सम्पर्कविहीन रहेका छन् ।

भोटेकोसीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि बेपत्ता तथा सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धार कार्य जारी रहे पनि उनीहरूको अवस्था अझै यकिन हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button